
अत्तरिया : गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेको गठबन्धन विशिष्ट परिस्थितिमा बनेको बताएका छन् । आज (मंगलबार) धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘अहिले हामीले नयाँ समीकरण गरेका छौँ । सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन् । विशिष्ट परिस्थितिमा हामी मिल्ने गरेका छौँ ।’ उनले थपे ‘विशिष्ट परिस्थितिमा बनेका समिकरणले विशिष्ट राजनीतिक परिणाम पनि प्राप्त गरेका छौँ । नेपाली कांग्रेसले निरंकुश पञ्चायती व्यवस्थासँग लड्नका लागि कम्युनिष्टसँग मिलेर हामीले बहुदलीय प्रजातन्त्रको स्थापना गर्यौँ ।’ उनले दशवर्षे माओवादी सशस्त्र संघर्षलाई मिलेर नै शान्तिमा रुपान्तरण गरेको बताउँदै राजाले निरंकुश लाद्दा मिलेर नै लोकतन्त्र स्थापना गरेको बताए ।
‘मिलेर संविधान बनायौँ । इतिहासमा एमाले र कांग्रेस मिल्दा खेरी सुखद परिणाम प्राप्त गरेका छौँ । खास गरेर देशमा महत्वपूर्ण एजेण्डा हुन्छन् । त्यसलाई हामीले मिलेर सम्बोधन गरेका छौँ । अहिले पनि हामी एउटा विशिष्ट परिस्थितिमा मिलेका छौँ ।’ उनले भने ‘पछिल्लो झण्डै डेढ बर्षमा मुलुकमा राजनीतिक स्थिरता हुन सकेन् । प्रत्येक एक डेढ महिनामा केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था भयो । एउटा समिकरण बन्ने त्यो भत्किने अर्को बन्ने । संघमा नयाँ सरकार बन्ने वित्तिकै सातै प्रदेशमा नयाँ सरकार बन्ने अवस्था भयो ।’
उनले स्थिर सरकारका लागि स्थिर समिकरण बनाउनु परेको बताए । उनले सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन,भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न,विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन ,मुलुकमा विधिको शासन स्थापना गर्ने गर्न नयाँ समिकरण बनेको दाबी गरे ।
संविधानको समुचित मुल्यांकन गरेर विषयबस्तु पहिचान गरेर,संविधानका मुख्य तत्वहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानका अधारभूत तत्वलाई प्रतिकुल नहुने गरि संविधान संशोधन गर्ने सरकारको उदश्य रहेको उनको भनाइ छ ।
