अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा निरन्तर अनुगमन भईरहेको छ । सोमबारदेखि प्लाष्टिकजन्य वस्तुहरुको विक्रिवितरणमा रोक लगाउर्दै नगरपालिकाले सुरु गरेको बजार अनुगमन बिहिबार पनि निरन्तरता पाएको हो ।
नगरपालिकालाई प्लाष्टिकमुक्त नगर बनाउनका लागि कार्यविधि सहित अघि बढेको छ । उपप्रमुख शारदादेवी रोकायाले प्लाष्टिकजन्य वस्तुहरुको विक्रिवितरणमा रोक लगाउन सोमबारदेखि निरन्तर रुपमा बजार अनुगमन गरिरहेको बताईन् । उनले प्लाष्टिकजन्य वस्तु संगसंगै वडामा पसल दर्ता भए नभएको पनि अनुगमन गरिरहेको बताएकी छन् ।
अनुगमनमा व्यापारीहरुलाई सम्झाई बुझाई गरिएको र प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य वस्तुहरु भेटेमा जफत गरिने र जरिवाना समेत गरिने जनाएको छ । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० बनाएको र सो विद्येयक अनुसार नै प्लाष्टिक जन्य वस्तुहरुको विक्रिवितरण रोक्ने भन्दै अनुगमन थालिएको जनाए । उनले सूचना जारी गरिएको भएपनि बजार अनुगमन गरेर सचेतना मुलक व्यापारीहरुलाई अहिले सम्झाई बुझाई राखेको बताए । आगामि दिनमा पनि निरन्तर रुपमा बजार अनुगमन गर्नुका साथै प्लाष्टिकजन्य वस्तु प्रतिबन्धमा थप कडाई गरिने प्रशासकीय अधिकृत भट्टले बताए ।
नगरपालिकाले यसभन्दा अगाडि पटक–पटक सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।
४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेष्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगाएतमा प्रतिबन्ध लगाईएको छ ।