आत्महत्या गर्नेमा बालिका र महिला बढी

अत्तरिया, २५ भदौ : आत्महत्या गर्नेमा महिला र बालिकाको संख्या बढी रहेको तथ्यांकले देखाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीको पछील्लो तीन वर्ष (चालु आर्थिक वर्षको अहिलेसम्म) को तथ्यांक अनुसार जम्मा १ सय ६१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा ६६ जना महिला र ६२ जना पुरुष छन् ।
त्यस्तै २० जना बालिका र १३ जना बालकले उत्त अवधीमा आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८\७९ मा २२ जना पुरुष, २७ जना महिला र १ बालक तथा ४ बालिका गरी ५४ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९\८० मा १३ जना पुरुष, २२ जना महिला र ७ बालक तथा ८ बालिका गरी ५० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८०\८१ मा २० जना पुरुष, १६ जना महिला र ४ बालक तथा ८ बालिका गरी ४८ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ७ पुरुष, १ महिला र १ बालक गरी ९ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पारिवारक कलह, मानसिक स्वास्थ्यमा समस्या, डिप्रेसन लगायतका कारणले आत्महत्या गर्ने रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । मंगलबार सेप्टेम्बर १० मा आत्महत्या रोकथाम दिवस समेत मनाएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएको हो ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको बताइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा आर्थिक वर्ष २०८०\८१ मा सात हजार २ सय २३ जनाले आत्महत्या गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.