डोटीमा वृद्धको हत्या गर्ने श्रेष्ठ कैलालीबाट पक्राउ

अत्तरिया : धनगढीमा कुटपिट गरी डोटी पुगेर वृद्धको हत्या गर्ने एकजना कैलालीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपायलको सिलगढी नगरपालिका–६ सिलगढीका २२ वर्षीय सरोवर श्रेष्ठ छन् । सिलगढीमै बस्ने ७५ वर्षीया कालुसिंह विष्ट गत बिहीबार घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा शनिबार श्रेष्ठलाई धनगढीबाट पक्राउ गरिएको डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
श्रेष्ठविरुद्ध मृतकका परिवारले दिएको किटानी जाहेरीका आधार कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । उनका अनुसार श्रेष्ठले बयानका क्रममा बिष्टको हत्या गरेको कुरा स्वीकारेका छन् ।
लागुऔषध प्रयोगकर्तासमेत रहेका श्रेष्ठले धनगढीमा एक जनालाई कुटपिट गरेपछि डोटी पुगेर हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले गत ११ भदौको राति धनगढीको उत्तरबेहडीमा सडकमा ढलेको अवस्थामा बेहोस भेटिएका भजनी नगरपालिका– १ का ३५ वर्षीय लालबहादुर चौधरीको उद्धार गरेको थियो ।
अनुसन्धानका क्रममा चौधरीलाई श्रेष्ठसहितका दुई जनाले सडकमा हिँडिरहेको बेला कुटपिट गरी लुटपाट गरेर भागेको खुलेको प्रहरीले जनाएको छ । सोही मोबाइलका आधारमा कैलाली प्रहरीले श्रेष्ठको खोजी गरिरहेको थियो । शनिबार राति सेती प्रादेशिक अस्पतालभित्र सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो अदालतबाट ८ दिनको म्याद थप गरेर श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.