मानाङ्क सहकारीको वार्षिक साधारण सभा : उत्कृष्ट बचतकर्ता, ऋणी र शेयर सदस्यलाई सम्मान

अत्तरिया, २८ भदौ : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा केन्द्रीय कार्यालय रहेको मानाङक् बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेको सभापतित्वमा आयोजित १३ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट रहेका थिए ।
प्रमुख अतिथि हरीदत्त भट्टले सहकारी संस्थाले गाउँ घरमा छरिएर रहेको सानो सानो पुँजीलाई बचत गरेर सामाजिक विकास साथै आर्थिक विकासमा समेत सहयोग पुगाएको बताए । उनले सहकारीले बचतकर्ताको आर्थिक अवस्थामा सुधार साथै जीवन स्तर उकास्न एकदमै सहज बनाएको बताए । ‘सहकारी भनेको स्थानीय सरकारको आर्थिक विकासको एउटा अङ्ग हो । सहकारीले समुदायमा गरेको योगदान, बचत सँगै विभिन्न क्षेत्रमा विकासको कार्य सृजना गरेको साथै नगरमा समेत धेरै ठूलो टेवा पुगाएको छ ।’ नगरले सहकारी संग साझेदारीका साथ अगाडि बढी नगर विकासको कार्यमा सहज हुने उनले बताए । उनले सबैले मिलेर नगरको आर्थिक विकास गर्नुपर्ने र त्यसका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । सहकारीले समुदायमा गरिरहेको योगदान, बचत र विकासले सम्पूर्ण नगरबासीमा टेवा पुगेको भट्टले बताए ।
यस्तै सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेले गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन लेखासमिति संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको लेखापरिक्षण प्रतिवेदन मुख्य प्रबन्धक प्रकाशकुमार जोशीले प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा २०६८ सालमा दर्ता भई गोदावरी नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय स्थापना गरी १३ वर्ष देखि शेयर सदस्यहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको हो । यस सहकारी संस्थामा आ.व २०८०\०८१ मा आइपुग्दा २ करोड ३१ लाख ४६ हजार ६ सय शेयर पूंजी रहेको साथै ६ सय ८५ जना शेयर सदस्यहरु संस्थामा आबद्ध रहेका छन् । आर्थिक वर्ष ०८०\०८१ मा संस्थाको जगेडा कोष तर्फ १ करोड ३२ लाख ३२ हजार १८८ रुपैयाँ रहेको र निक्षेप तर्फ संस्थाले ११ करोड ४ लाख ४६ हजार ७०२ रुपैयाँ बचत संकलन गरेको जुन गत वर्षको तुलनामा १ करोड ले बृद्धि भएको छ ।
यस्तै संस्थाको कर्जा तर्फ १६ करोड १५ लाख ८७ हजार ३३५ रुपैयाँ लगानी गरेको गरेको छ भने स्थिर सम्पतिमा १ करोड ५४ लाख ५० हजार २८ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा २ करोड २८ लाख ७० हजार ९४७ रुपैया तरलता राखेको छ । साथै यस आ व २०८०\०८१ मा करिब २० करोड बराबरको आर्थिक कारोबार गरेको संस्थाले उक्त कारोबार बाट १९ लाख २८ हजार २८१ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
उत्कृष्टलाई सम्मान
सभामा यस वर्ष उत्कृष्ट बचतकर्तामा गणेश केसी, गणेश सिंह बुढाथोकी, उत्कृष्ट ऋणीमा जगन्नाथ गुप्ता र प्रकाश कामी साथै उत्कृष्ट शेयर सदस्यमा सुरज थापा र योगेश भट्टलाई सम्मान गरिएको हो । संस्थाले सामाजिक दायित्व बोध गर्ने नाफा रहित संस्था ‘मानांक फाउन्डेसन नेपाल’ स्थापना गरी यसै स्थानीय तहमा निशुल्क महाप्रस्थान यान संचालनमा ल्याई सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै सहकारी ऐन, नियमावली, अन्तरगत रही संस्था विकास गर्ने, सुशासनमा रही सहकारी सदस्यलाई सेवा प्रवाह गर्ने गरेको छ । यस्तै, वित्तीय शिक्षाका माध्यमबाट बचत गर्ने बानीको विकास गर्ने, घरेलु उद्योग संचालन गरेका सदस्यलाई कर्जा प्रवाह गर्ने, बैदेशिक रोजगारलाइ न्यूनीकरण गर्न टेवा पुगाउनुका साथै बैंकिंग सेवा पहँुच नभएकालाई सहकारीको माध्यामबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ संस्था निरन्तर सेवा दिँदै आइरहेको मुख्य प्रबन्धक प्रकाशकुमार जोशीले बताए ।
संस्थाले गोदावरी नगरपालिका ५ गेटामा सेवा केन्द्रबाट निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । साथै सभाको विशिष्ठ अतिथिमा नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक समिति केन्द्रिय सदस्य दीप्ति शाही रहेकी थिइन । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी एबं प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो । सभाको कार्यक्रम सञ्चालन संस्थाका प्रमुख प्रबन्धक प्रकाशकुमार जोशीले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.