अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा प्रधान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ।
शनिबार एक औपचारिक कार्यक्रमका बीच संस्थाले छैठौं बार्षिक साधारण सभा सम्पन गरेको हो। संस्थाका अध्यक्ष चन्द्रबहादुर विष्टको सभापतित्वमा आयोजित सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक सुदूरपस्चिम प्रदेशका प्रमुख दिनेश गेलाल रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि दिनेश गेलालले सहकारी संस्थाहरु संग सहकारी बैंकले सदैव सहकार्य गरेर उत्कृष्ट कार्य गर्दै जाने बताए । उनले सहकारी संस्थाको शुद्धिकरण सँगै नयाँ प्रविधिलाई जोड दिँदै सदस्यहरुलाई सहजिकरण सँगै बैंकिङस्तरसम्म पुर्याने बताए। साथै सहकारी संस्थाका सम्पूर्ण सञ्चालक समितिले सदस्यहरूको सेवामा निरन्तर केन्द्रित भएर सदस्यहरूको माग, अपेक्षा बुझेर कार्य गर्न आवश्यक रहेको बताए। उनले सहकारी संस्थाको विषयमा विभिन्न क्रियाकलापहरुमा राष्ट्रिय सहकारी बैंक संगसंगै सदैव सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत गरे।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष चन्द्रबहादुर विष्टले गरेका थिए भने संस्थाको आयव्यय प्रस्तुत कोषाध्यक्ष दीर्घराज अवस्थीले गरेका थिए।
प्रस्तुत प्रतिवेदनमा २०७५ सालमा ३० जना शेयर सदस्यहरुबाट संचालन ल्याइएको उक्त सहकारी संस्थामा आव २०८०\०८१ मसान्त सम्ममा आइपुग्दा १ हजार ८८ जना शेयर सदस्यहरु पुगेका छन् भने १ करोड २४ लाख ३१ हजार ३ सय संस्थाको शेयरपुँजी रहेको छ। संस्थाले आव २०८०\०८१ मा संस्थाले १३ करोड १६ लाख ७६ हजार ५४८ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । साथै उक्त कारोबारबाट सस्थाले सम्पूर्ण खर्च कटाई ६ लाख १२ हजार ८२१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै संस्थाले कर्जा तर्फ १० करोड ३५ लाख ५३ हजार ८६५ रुपैयाँ ऋणमा लगानी गरेको छ भने निक्षेप तर्फ ९ करोड १९ लाख ४६ हजार ६३७ रुपैयाँ बचत संकलन गरेको छ। संस्थाले साधारण सभाको अवसरमा संस्थामा आबद्ध सदस्यहरु मध्ये प्रोत्साहान पुरस्कार उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।
संस्थाले कैलाली जिल्लाको धनगढी र कञ्चनपुर जिल्लाको गुलरियामा संस्थाको सेवा केन्द्रको विस्तार गरी सदस्यहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले २५ जना कर्मचारीहरुलाई रोजगार प्रदान गरेको छ ।
साथै साधारण सभामा विशिष्ठ अतिथिमा भूमि व्यवस्था तथा रजिष्टारका प्रतिनिधी देव राज पन्त, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहनु भएको थियो भने आतिथ्यमा विभिन्न संस्थाको प्रबन्धकहरूको सहभागी रहेका थिए।
सभाको संस्थाका कार्यकारी प्रमुख अम्मरबहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सञ्चालक समिति सदस्य सोनी भण्डारीले गरेकी हुन् ।