किरिया बस्दा पनि कार्यालयको काममा जुटेका जोशी

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतका नारायण जोशी किरिया बस्दा पनि कार्यालयको काममा खटिएका छन्। पितृशोकमा रहेका जोशीले घरबाटै कार्यालयको काम गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक र र्‍यापिड रेस्पोन्स टिमका संयोजक हुन्। सेवा प्रवाहमा असर नपरोस् भनेर किरिया बसेकै अवस्थामा कार्यालयको नियमित काममा खटिएको जोशीले बताए।

कात्तिक २३ गते शुक्रवार जोशीका बुवाको निधन भएपछि २४ गते दाहसंस्कार गरियो। जोशी २४ गतेदेखि किरिया स्थलबाटै नियमित कार्यालयको काम गरिरहेका छन्। उनले भने, र्‍यापिड रेस्पोन्स लगायतका महत्त्वपूर्ण काम ओझेलमा नपरोस् भन्ने छ। त्यसैले काम गरिरहेको छु।’

मधुमेहका विरामी रहेका बुवा धर्मराज जोशीको ६५ वर्षको उमेरमा मृत्यु भएको थियो। कार्यालयको दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर काम गरिएको जोशीको भनाइ छ। नेपाल सरकारको नियमानुसार १५ दिन किरिया बिदा पाइन्छ। विपद् आपत्‌मा परेका नागरिकको तत्काल प्रतिकार्य गर्न सकियोस् भनेर आफूले कामकाज गरिरहेको जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.