बाजुरा : बाजुरामा उपाध्यक्ष पदमा उम्मेदवार थापा र विकको उम्मेदवारी फिर्ता भएको छ। यही मंसिर १६ गते हुने स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा ९माओवादी केन्द्र०की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की उम्मेदवार सुनादेवी थापा भोटे (धामी) ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए।
गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन्। २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार ८१० मत ल्याएकी थिइन। उपनिर्वाचनमा हाल ९ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन्। मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।