अत्तरिया : सुदूरपश्चिममा तीन हजार सात सय २३ जना एचआइभी संक्रमित एआरटी उपचारमा रहेका छन् । कुल चार हजार नौ जना संक्रमितमध्ये हाल उक्त संख्याका संक्रमित उपचारमा रहेका हुन् । ३७ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय डोटीले आज धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिममा एचआइभीको अवस्थाबारे तथ्यांक प्रस्तुत गरेको छ ।
गत आवसम्म कैलालीमा एक हजार सात सय ४५,कञ्चनपुरमा चार स य ६०,अछाममा पाँच सय ८४,डोटीमा चार सय ९३,डडेल्धुरामा एक सय १५,बैतडीमा एक सय २८,दार्चुलामा ४५,बझाङमा ९१ र बाजुरामा ६२ जना एचआईभी संक्रमिति एआरटी उपचारमा रहेको जनाइएको छ ।
गत आवमा मात्रै २ सय १४ जनामा एचआइभी संक्रमण पुष्टि भएको र संक्रमिति सबै एआरटी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनमा गत आवमा संक्रमितको संख्या घटेको जनाइएको छ । त्यस्तै गत आवमा ६४ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।
स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. खगेन्द्र बमले संक्रमितको जीविकोपार्जनमा समेत ध्यान दिनु पर्ने बताए । उनले संक्रमितले काम नपाउने काम गर्न नसक्ने जस्ता कारणले समस्यामा रहेको बताए । संक्रमितले समाजमा अन्य मानिस सरह बाच्न पाउनु पर्ने बताए । एचआईभी निको नभएपनि व्यवस्थापन हुने उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले एचआइभी संक्रमितको संख्या घट्दै गएपनि यसको जोखिम अझै रहेको बताए । उनले योसामाजिक रोग पनि भएको बताए । स्वास्थ्य कार्यालय कैलालीकी निमित्त प्रमुख गौरी जोशीले एचआइभी रोगको अवस्था सुधारोन्मुख भएपनि अझै धेरै काम गर्नुपर्ने बताइन् । नियमित औषधी सेवन गरे एचआइभी संक्रमितले जीवन यापन गर्न सहज हुने उनले बताइन् ।
सरकारले सन् २०३० सम्म नया संक्रमित,मृत्यु र संक्रमितलाई गरिने भेदभाव सून्यमा झार्ने लक्ष्य लिइएको जनाइएको छ । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चत गरोँ भन्ने नाराका साथ भोलि ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ ।