अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा रहेको गेटा आँखा अस्पतालमा आज (बुधबार) देखि चमेना गृहको उद्घाटन गरिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । नगरप्रमुख भट्टले गेटा आँखा अस्पताल गोदावरी नगरपालिका भित्र भएकाले यसको अपनत्व नगरपालिकाले लिएर भवन निर्माण गरिएको बताए । उनले आगामी दिनमा समन्वयन गरेर गेटा आँखा अस्पतालको आवश्यकता पूर्तिका लागि सधैँ तत्पर रहने बताए ।
गोदावरी नगरपालिका र जिल्ला समन्वय समितिको आर्थिक सहयोग बाट (६५ लाख) रकम निर्माण गरिएको हो । उद्घाटन कार्यक्रमका क्रममा प्रमुख भट्टले बिरामी र उनीहरूका आफन्तहरूलाई सहज, सस्तो मूल्यमा स्वस्थकर खाना तथा नास्ता उपलब्ध गराउने उद्देश्यले क्यान्टिन सुरु गरिएको बताए । साथै, उनले क्यान्टिन व्यवस्थापनलाई सस्तो, गुणस्तरीय, र बिरामी अनुकूल सेवा प्रदान गर्न निर्देशन समेत दिए ।
नेत्र ज्योति सघ सुदूरपश्चिम सभापति चक्रबहादुर सिंहले गेटा अस्पतालमा गोदावरी नगरपालिकाले अपनत्व लिएर भवन बनाएकोमा धन्यवाद ज्ञापन गरे । ‘गोदावरी नगरपालिका यो अस्पतालको अभिभावक पनि हो’ उनले भने ‘यसमा अहिले नगरपालिकाले भवन बनाएर अपनत्व लिएकोमा धन्यावाद दिन चाहन्छु ।’ उनले अस्पतालले पछिल्लो समय भौतिक रूपमा फड्को मार्दै गएको बताए ।
गेटा आँखा अस्पतालका प्रशासकीय मेडिकल डाइरेक्टर सुरेशराज पन्तले अस्पतालमा भएका समस्या तथा पालिकाको सहयोग आगामी दिनमा बिरामी, कुरुवा तथा कर्मचारी तथा विद्यार्थीलाई खाना नास्ताका लागि सहयोग पुग्ने बताए ।
अस्पतालमा क्यान्टिनको अभावका कारण बिरामी र उनीहरूका आफन्तले समस्या भोग्दै आएका थिए । यस क्यान्टिनको स्थापना भएपछि उनीहरूको कठिनाइ समाधान हुने अपेक्षा गरिएको छ । क्यान्टिनले बिहानको नास्तादेखि लिएर खाना, चियाँ, र अन्य परिकारहरू सहजै उपलब्ध गराउनेछ । अस्पताल परिसर भित्र सञ्चालित क्यान्टिन भवन गोदावरी नगरपालिकाको ६५ लाखको लागतमा निर्माण गरिएको नेत्र ज्योति सघका सचिव नरेन्द्र राज शर्माले बताए ।
नेपाल नेत्र ज्योति संघ कैलाली जिल्ला सभापति लोकराज जोशीको सभापतित्वमा संचालित कार्यक्रममा नगर उप प्रमुख शारदा देवि रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट, वडा नं ५ का वडा अध्यक्ष सुद्धिराम चौधरी लगायत अस्पतालका कर्मचारी, अस्पतालका कर्मचारी, बिरामीका आफन्त, र स्थानीयबासीहरूको पनि उपस्थिति थियो ।
सम्बन्धित पाेस्टहरु