अछाम : शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफलका लागि रामारोशन गाउँपालिकाले अभियान थालनी गरेको छ । शिक्षक, विद्यार्थी, अभिभावकलाई जिम्मेवार बनाएर शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका केन्द्रित भएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा ठुलो लगानी भए पनि त्यसको प्रतिफल निकै कम भएकाले उपलब्धिमूलक गुणस्तरीय शिक्षा बनाउन अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकासँग प्रत्येक विद्यालयका प्रधानाध्यापकको कार्यसम्पादन सम्झौता गरिएको छ । प्रधानाध्यापकले आफ्नो विद्यालयका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन् ।
कार्यसम्पादन सम्झौता अनुसार विद्यालयको आधारभूत आवश्यकता पूरा गर्न गाउँपालिका र शैक्षिक गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाइएको छ । दोस्रोमा प्रधानाध्यापकले आफ्ना विद्यालयका सबै शिक्षकसँग सम्झौता गर्ने र विषय शिक्षकले गुणस्तरको सुनिश्चित गर्नुपर्ने भएको छ । यस्तै बालविकास केन्द्रका बालबालिकालाई न्यूनतम तोकिएका सूचक बालशिक्षकले पूरा गर्नैपर्ने बाध्यता गरिएको छ ।
कार्यसम्पादन बाध्यकारी बनाइएकाले प्रधानाध्यापक र शिक्षकलाई सक्षमता र असफलतामा परिभाषित गरेर कार्यसम्पादन मूल्याङ्कनका आधारमा सेवा सुविधा रोक्नेदेखि शिक्षण कार्यबाट बिदाइ गरिनेसम्म कार्य गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवीन ओझाले बताए । हरेक वडाका विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय अगुवाका माझमा अभियान तथा कर्तव्यबारे जानकारी दिने काम भइरहेको छ ।
गाउँपालिका अन्र्तगत रहेका ४८ विद्यालयका बालविकासदेखि कक्षा १२ सम्मका करिब १० हजार विद्यार्थीलक्षित रूपान्तरण अभियान सञ्चालन गरिएको छ । ‘रामारोशन शैक्षिक रूपान्तरण कार्यविधि’ निर्माण गरेर शैक्षिक रूपान्तरण अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको भनाइ छ । अछाम जिल्लामा विद्यालयस्तरको शैक्षिक गुणस्तर खस्किएको भन्दै विभिन्न स्थानमा छलफल हुने गरेको छ । गुणस्तरीय अध्यापन नभएको भन्दै केही अभिभावकले छोराछोरी सहर वा तराई तथा केहीले भारतमा लैजाने गरेको पाइन्छ ।
हरेक दिन तीनरतीन नियमित गृहकार्यसँगै प्रत्येक शिक्षकले हरेक कक्षाको अन्त्यमा पाठ्यपुस्तकबाहेक तीन वटा नयाँ कुरा विद्यार्थीलाई सिकाउनुपर्ने छ । कक्षाको तह अनुसार सामान्यज्ञान वा बौद्धिक परीक्षण वा अन्य समसामयिक विषयमा ‘हरेक दिन तीनरतीन’ नाममा शिक्षकले विद्यार्थीलाई नौलो ज्ञान दिनुपर्ने गरी बाध्यता तोकिएको छ । अधिकृत भण्डारीले भन्नुभयो । ज्ञानको दायरा वृद्धिसँगै रहेका बालबालिकालाई लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतमा सपना देखाउन अभियान केन्द्रित रहेको बताइएको छ ।