अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुरमा रहेको समानता कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा खिमादेवी विक चयन भएकी छन् ।
शनिबार सहरकारीको चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनले उनको अध्यक्षमा समिति चयन गरेको हो । साधारण सभाको प्रमुख अतिथि गोदावरी नगरपालिका – १ का वडा सदस्य गम्भीर साउद रहेका थिए । यस्तै उपाध्यक्षमा देव राज भट्ट, सचिव विलियम सिं, सञ्चालक सदस्यमा रमेश लुहार, सरस्वती कुमारी बिक, नरेश दमाई, दिपा देवि कामी चयन भएका छन ।
यसैबिच लेखा समिति संयोजक सविना नेपाली र सदस्यमा गणेश राज भट्ट र अनिता नागरी चयन भएका छन । चुनावी अधिवेशनमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशीको संयोजकत्वमा डिल्ली राज पनेरु, डण्डीराज भट्ट सदस्य रहेको निर्वाचन उपसमिति गठन गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।
चुनावी साधारण सभामा सहकारीका व्यवस्थापक विलियम सिंले साधारण सभाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थामा आर्थिक वर्ष २०८१\८२ मा १७ लाख ४५ हजार ६८३ रुपैयाँ निक्षेप रहेको छ भने सो अवधिमा शेयर पुजी १० लाख ८७ हजार ५०० र कर्जा लगानी ३१ लाख १ हजार ९७३ रुपैयाँ रहेको छ ।
कार्यक्रममा सुरेश नेपालीले सहकारीको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए । उनले सहकारीलाई पहिलो पटक पार्वती भूल र दम्बरी कुन्जेडाले ५ सय रकम दिएर सुरूवात गरिएकोमा हाल २३० सेयर सदस्य पुगाउन सफल भएको बताए । कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष विलियम सिं लगायत गणेश नेपाली , गोपाल विक, बल बहादुर नेपाली, सुवास विकलाई सम्मान गरिएको थियो ।
सम्बन्धित पाेस्टहरु