अत्तरिया, २५ मंसिर : कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलाको लक्ष्मी माविमा वडास्तरीय तेस्रो अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ । गोदावरी वडा नं. ४ को सहयोग र लक्ष्मी माविको आयोजनामा उक्त प्रतियोगिता भएको हो ।
कार्यक्रममा योजना आयोगका पूर्व सदस्य विजय कुँवरले विद्यार्थीहरूको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको बताउँदै आयोजक र सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गरे । वडा अध्यक्ष हेम प्रकाश मल्लले लुकेको प्रतिभा उजागर गर्न, विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न, र उनीहरूबीच समधुर सम्बन्ध कायम गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
लक्ष्मी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोकामगरका अनुसार प्रतियोगितामा ११ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । प्रतियोगितामा १५ प्रकारका खेल समावेश गरिएको छ । उक्त प्रतियोगिता पठनपाठनसँगै विद्यार्थीहरूको मानसिक र शारीरिक क्षमता विकास गर्न महत्वपूर्ण भएको आयोजकले जनाएको छ ।
गोदावरी नगरपालिकाले प्रत्येक वर्ष फरक–फरक विद्यालयमा वडास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकको प्रतियोगिता लक्ष्मी माविमा आयोजना भई बुधबारदेखि सुरु भई मंसिर २६ गते सम्पन्न हुने छ । प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई, शैक्षिक र अतिरिक्त गतिविधिमा सामंजस्य स्थापित गर्न सहयोग पु-याउने विश्वास गरिएको छ ।