बैतडी : पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडाध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।
जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेपछि वनमा सुक्खापन बढ्दै जाँदा डढेलो लाग्न थालेपछि भू–उपयोग योजना अन्तर्गत रिचार्ज पोखरी निर्माण सुरु भएको मेलौली नगरपालिकाका नगरप्रुमख भीमबहादुर चन्द (भूकम्प) ले बताए । भू–उपयोग योजना बनाउन नगरपालिकालाई राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए ।
योजना अन्तर्गत पहिलो चरणमा बढी सुक्खाग्रस्त क्षेत्र मानिएका मेलौली नगरपालिका–९ बाट कामको थालनी भएको वडाध्यक्ष लोकराज भट्टले बताए । वडाभित्र रहेका सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माणको काम सकिएको उनले बताए ।
जल सम्पदाको संरक्षण गर्दै जमिनको उपयोग गरेर जीवनस्तरमा सुधार ल्याउन मेलौली नगरपालिका–९ को सबै खेतीयोग्य जमिनमा सामूहिक खेती गर्ने गरी योजना बनाएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका स्रोत व्यक्ति नरीराम लोहारले बताए । उनले भने, “पानीका मूल सुक्न थालेपछि परम्परागत कुलो र कुवा
सङ्कटमा परेका छन् । गाउँमा सिँचाइ नहुँदा जमिन बाँझो रहँदा खाद्य सङ्कटसमेत बढेपछि भूउपयोग योजनाका लागि नगरपालिकालाई प्राविधिक र समुदाय परिचालनमा सहयोग गरिरहेका छौँ ।”
पहाडी क्षेत्रमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरी जीविकोपार्जन गर्न सामुदायिक नीति २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताए । सामुदायिक नीति घोषणा भएपछि बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीका मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पानीका मुहान जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षरोपण गर्ने काम अघि बढेको वडाध्यक्षले बताए।
केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवार कोदो खेती गर्दै आएकोमा अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गर्दै आएका छन् । गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । युवा रोजगारीका लागि विदेश गएका छन् । गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइँसराइको दर बढ्दा गाउँ रित्तिने अवस्था आएपछि नगरपालिकाका सबै वडामा भूउपयोग योजना बनाई नयाँ कामको थालनी गरिएको नगरप्रमुख चन्दले बताए ।