नक्कली बुवा बनेका बिरबहादुर पक्राउ

अत्तरिया, ८ पुस : कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।
ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए । ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए ।
नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मालीले कञ्चनपुरकै ३१ वर्षीया युवतीलाई सामाजिक सञ्जालबाट प्रेममा पारेर पेशाले इन्जिनियर बताउँदै अमेरिकाको भिसा समेत लागिसकेको भनेर ढाटेर २२ मंसिरमा विवाह गरेका थिए । तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो भने यसअघि नै विवाह गरेको पाइएको थियो ।
कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ । धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.