अत्तरिया : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार मृतक बाजुराको बडीमालिका नगरपालिका–७ निवासी ३० वर्षीय धर्मराज खत्री हुन्। खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक समेत हुन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलमा र खत्रीले चलाएको सुपप्र ०१००७११ प नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार उनकी केटी साथी (डोटी घर भएकी स्वास्थ्यकर्मी) २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन्।
मृतका खत्रीले चलाएको मोटरसाइकलका सवार थापाको स्थायी घर डोटीको शिखर नगरपालिका–११ हो भने उनको माइती पुनर्वास कंचनपुर हो। दुर्घटनामा परेर थापा र शाह पनि घाइते भएकोमा थापाको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार जारी छ।