गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका विषयमा मुख्यमन्त्री र संघर्ष समितिबीच छलफल

अत्तरिया, १४ पुस : दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच धनगढीमा छलफल भएको छ । आइतबार दुई पक्ष बीच छलफल भएको हो । छलफलमा विश्वविद्यालयको विधेयक चाँडो पास गराउन दबाब दिने, प्रदेश मातहतका अस्पतालहरूलाई गेटा अस्पतालमा गाभ्ने र आरक्षणको व्यवस्थालगायत विषयमा विचार आदानप्रदान गरिएको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) ले प्रदेश सरकारले सेती र महाकाली अस्पताललाई गेटा अस्पतालमा गाभेर शिक्षण अस्पताल सञ्चालन गर्न देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरे । उनले विधेयक संसदमा पेस हुने तयारीमा रहेको उल्लेख गर्दै, पास भएलगत्तै मेडिकल शिक्षण सुरु गर्न आवश्यक वातावरण तयार गर्न सरकारको सक्रियता अपरिहार्य रहेको बताए । ‘विधेयक पास भएपछि ३ सय शय्याको अस्पताल बनाउन समय लाग्ने भएकाले तत्काल सेती र महाकाली अस्पताललाई गेटामा मर्ज गरी पठनपाठन सुरु गर्नुपर्ने आवश्यकता छ’ पाण्डेयले भने । मुख्यमन्त्री शाहले हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक पास हुने अपेक्षा व्यक्त गर्दै, शैक्षिक सत्र सुरु गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए । उनले भने, स्वास्थ्य मन्त्री, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतका नेताहरूसँग यसबारे छलफल भइरहेको छ । सेती अस्पताललाई गेटामा गाभ्ने प्रक्रिया अघि बढिसकेको छ । आवश्यक परे महाकाली र टीकापुर अस्पताल पनि मर्ज गरिनेछ ।’’मुख्यमन्त्रीले विश्वविद्यालय विधेयकमा सुदूरपश्चिमका लागि आरक्षणको व्यवस्था गर्न सांसदहरूसँग संवाद भइरहेको र प्रदेश सरकारको भूमिकालाई सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । संघर्ष समितिले विधेयक पास भएपछि विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कदम चाँडो चाल्न प्रदेश सरकारलाई आग्रह गरेको छ । छलफलले विश्वविद्यालय स्थापनाको प्रक्रियालाई तीव्रता दिने र प्रदेशका अस्पतालहरूलाई एकीकृत गर्दै शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने निष्कर्ष निकालेको छ । लामो समयदेखि विश्वविद्यालयको माग गर्दै स्थानीय युवहरु संघर्षरत रहेका छन् । सरकारले अहिले गेटामा अस्पताल सञ्चालनमा ल्याएको छ । ६ अर्ब लगानीमा सरकारले पूर्वाधार बनाए पनि त्यसको सदुपयोग गर्न सकेको छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.