अत्तरिया, १५ पुस : धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा पहिलो स्थान प्राप्त गरेकी रीतिका घतला र तेस्रो स्थान हासिल गरेका एलेक्स भुललाई सम्मान गरिएको छ । सोमबार डोटेली संस्कृति संरक्षण समाज गोदावरीले पुस १५ को अवसरमा आयोजना गरेको देउडा कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दुवै जनालाई खादा लगाई सम्मान गरिन् । समाजले डान्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर डोटेली कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रोकायाले यस्ता गतिविधिले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने मात्र नभई क्षेत्रीय संस्कृति जगेर्नामा पनि भूमिका खेल्ने बताइन् ।
उनले स्थानीय प्रतिभाहरुलाई प्रोत्साहित गर्न आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि गरिएको थियो भने सहभागीहरुले डोटेली परम्परागत नृत्य र संगीतको आनन्द लिएका थिए ।