सुदूरपश्चिम प्रदेश : सडक निर्माण गर्न गुरुयोजना तयार

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि गुरु योजना तयार गरेको छ । एक सय ६६ वटा सडक निर्माण गर्न गुरुयोजना तयार गरेको हो ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालय सहितका निकायसँगको समन्वयमा प्रदेशका नौवटै जिल्लामा पाँच हजार किलोमिटर बराबरका एक सय ६६ वटा सडकको गुरुयोजना तयार पारेको छ ।
सरकारले बनाएको गुरुयोजना अनुसार प्रदेश लोकमार्ग र प्रदेश सहायक लोकमार्गको पहिचान गर्दै वर्गीकरण गरिएको छ । दूरीका हिसाबले सबैभन्दा धेरै अछाममा ७ सय ७२ किलोमिटर लम्बाइका १९ वटा योजना छनोट गरिएको छ ।
बैतडीमा ७ सय १२ किलोमिटर बराबरका २६, बझाङमा ६ सय ४८ किलोमिटरका १९, डोटीमा ६ सय १७ किलोमिटरका १५, कैलाली ५ सय ५६ किलोमिटरका २३, बाजुरामा ४ सय ८९ किलोमिटरका २०, डडेल्धुरामा ४ सय ७९ किलोमिटरका १३, दार्चुलामा ४ सय ४२ किलोमिटरका १७ र कञ्चनपुरमा २ सय ७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गुरुयोजना अन्तर्गत छनौट गरेका सडक प्रदेश सरकारबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरी पाँचदेखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्नुपर्नेछ । गुरुयोजना अन्तर्गत छनौटमा परेका सडकका विषयमा यातायात पूर्वाधार निर्देशनालयले बिहीबार धनगढीमा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यलगायतका सरोकारवाला पक्षको सहभागितामा भएको कार्यशाला गोष्ठीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा परेका सडकको विवरण सार्वजनिक गर्दै सुझाव मागिएको थियो ।
सो क्रममा प्रदेश सभा सदस्यहरुले गुरुयोजना तयार गर्ने क्रममा सम्बन्धित क्षेत्रका प्रदेश सभा सदस्यसँग परामर्श नगरिएको भन्दै अब भने आफ्ना सुझावलाई स्थान दिन माग गरेका छन् । कांग्रेसका प्रमुख सचेतकसमेत रहेका प्रदेश सभा सदस्य बिक्रम धामीले पनि गुरुयोजनामा जिल्लाका महत्वपूर्ण सडक छुटाइएको, मानिसको आवतजावतलाई मात्र ध्यान दिइएको देखिएकाले पुनरावलोकन गर्नुपर्ने सुझाव दिए ।
एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले आवश्यकताका आधारमा सडक निर्माणको योजना बनाउनुपर्नेमा जोड दिए । पाठकले प्रदेशले बनाइरहेका वा बनाउनुपर्ने मात्र नभएर संघ सरकार अन्तरगतका सडक, तिनको अवस्था र स्थानीय तह अन्तरगतका सडकको पनि अभिलेख राख्नुपर्ने सुझाव दिए ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशमा के–कस्ता सडक छन् ? भन्ने कुराको मसिनो विश्लेषण गरेर गुरुयोजना बनाउन राम्रो हुने बताए । गुरुयोजनामा प्रदेशमा कस्ता सडकको आवश्यकता छ ? निर्माण गर्न चाहिने स्रोत सुनिश्चितताको स्थितीबारे पनि सचेत भएर काम गर्दा परिणाम आउने रावलको भनाइ थियो ।
कार्यशाला गोष्ठीमा उठेका प्रश्नको जवाफ दिदै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले सबैसँगको परामर्श र सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रूप दिइने जानकारी दिए । प्रदेश सभा सदस्यहरूसँगको छलफलका आधारमा गुरुयोजनामा परेका सडक पूर्वाधारका योजना थपघट गर्न सकिने बताउँदै मन्त्री पालले चाडै गुरुयोजना तयार गर्नुपर्ने उल्लेख गरे ।
तर, अहिले गुरुयोजनामा उल्लेख गरिएका सडक पनि सबै पक्षसँगको छलफलकै आधारमा तय गरिएको उनी बताउँछन् । ‘यी योजना हामीले पालिकाहरू, जिल्ला समन्वय समितिमा छलफल गरेर, हाम्रा पूर्वाधार विकास कार्यालयदेखि लिएर सबैपक्षसँग छलफल गरेर तयार पारेका हुन्,’ पालले भने, ‘कतिपयलाई यतिकै आएको हो की भन्ने लागेको होला तर त्यस्तो होइन । आवश्यकताका आधार ल्याइएको हो ।’
पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरूलाई गुरुयोजनाका सम्बन्धमा लिखित रुपमा सुझाव दिन आग्रह गर्दै ती सुझाव ग्रहण गरिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.