अत्तरिया : ‘शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, प्रकृति संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला’ भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शैक्षिक जागरणको अभियान सुरु गरेको छ ।
दूरदराजका स्थानमा रहेका आधारभूत आवश्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा शरु गरेको हो । चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ । विगत वर्षझैं यस वर्ष पनि सहयोगार्थ यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो । त्यस्तै डोटीको धिर्कामाण्डौँस्थित दर्जाकोट माविलाई एक थान ल्यापटपसहित ३ सय थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी बताए ।
डोटीको बोगटान फुडसिल गाउँपालिका–१ सिमचौरस्थित सिमचौर माविका विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममा पाठशालाका अध्यक्ष जोशीले शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता भएको बताए । विद्यालय प्रशासन, अभिभावक, नागरिक समाज, स्थानीय सरकार,शिक्षक र विद्यार्थीसंगको साझेदारीले शैक्षिक क्षेत्रमा नवप्रर्वतन ल्याउन सकिने उनले बताए ।
चैतन्यको शैक्षिक जागरण अभियानमा पाठशालाका अध्यक्ष जोशी, अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरी र चैतन्य पाठशालामा ब्राण्ड एम्बास्टरको रुपमा कार्यरत साईकलयात्री भरतविक्रम शाहको उपस्थिति रहेको थियो । चैतन्यको शैक्षिक जागरणबाट प्रेरणा मिलेको अनुभूति भएको नागरिक समाजका अगुवाको भनाइ थियो । यस्ता खालका कार्यक्रमबाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको भनाइ थियो ।
सम्बन्धित पाेस्टहरु