अत्तरिया, १९ पुस : कैलालीमा जारी शीतलहर र त्यसले जनजीवनमा पारेको प्रभावलाई कम गर्न सरोकारवालाबीच छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा आयोजित यस बैठकमा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय सरकारी र गैरसरकारी संस्थाहरूका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकका क्रममा विभिन्न संस्थाहरूले शीतलहर तथा अन्य प्राकृतिक विपद् न्यूनीकरणका लागि गरिरहेका कामबारे जानकारी गराए । उनीहरूले विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय समुदायमा केन्द्रित योजनाहरू लागू गर्नुपर्नेमा जोड दिएका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले शीतलहरजस्ता प्राकृतिक विपद् न्यूनीकरणमा सबै संस्थाहरूको एकीकृत प्रयास आवश्यक रहेको बताए ।
उनले प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न सुझाव दिए । झसहकार्य र समन्वयबाट मात्रै विपद् व्यवस्थापनमा प्रभावकारी नतिजा निकाल्न सकिन्छ,’मिश्रले भने । बैठक जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा दुई दिनयता बाक्लो हुस्सुले जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्म घाम नलाग्दा चिसो झन् बढेको छ । दैनिक मजदूरी गर्ने वर्ग, विद्यार्थी र बृद्धवृद्धाहरू यसबाट विशेष प्रभावित भएका छन् । स्थानीय प्रशासनले शीतलहरको प्रभावबाट जोगिन न्यानो कपडा लगाउन, अनावश्यक घरबाहिर ननिस्कन र सचेत रहन अपिल गरेको छ । साथै, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले प्रभावित समुदायलाई न्यानो कपडा वितरण, तातो खाजाको व्यवस्था र अस्थायी तापक्रम केन्द्रहरू सञ्चालन गर्ने जनाएको छ ।
शितलहरबाट बचाउन मिडिया, सञ्चारका माध्यमले सन्देशमुलक सामाग्री उत्पादन गरेर नागरिकलाई सचेत पार्न काम गरिरहेका जनाएको छ । तराईमा बाक्लो हुस्सुका कारण यातायात, कृषिका साथै व्यवसाय क्षेत्रमा पनि नकारात्मक प्रभाव परेको छ । किसानहरूले चिसोले बालीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् भने सवारीसाधन चलाउन मुस्किल भएपछि यात्रुहरूलाई गन्तव्यमा पुग्न ढिलाइ भएको छ । शीतलहर र चिसोको प्रभावलाई कम गर्न स्थानीय प्रशासन र संघसंस्थाहरूको सक्रियता बढाइएको जनाइएको छ । बैठकबाट निकालिएका निष्कर्षहरूलाई व्यवहारमा उतार्न सके चिसोबाट प्रभावित समुदायको राहत हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित पाेस्टहरु