अत्तरिया, २० पुस : गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष लक्ष्मीकुमारी बोहराको अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् ।
प्रमुख अतिथि तुलसी देवकोटाले अत्तरिया श्रमिक संस्थाले आफ्ना सदस्यहरुलाई एकदमै न्यून सहुलियत ब्याजदरमा ऋण प्रदान गर्दै सदस्यहरूलाई जीविकोपार्जन गर्न सफल बनाएको बताइन् । सहकारी भनेको सदस्यहरुको दैनिक आयआर्जनको स्रोत हो जुन सहकारीले मानिसको जीवनमा सुधार ल्याउन सर्वसुलभ सेवा उपलब्ध गराउँदै आइरहेको उनले बताईन् ।
‘सहकारीले सदस्यलाई आयआर्जनमा सुधार जीवनस्तर उकास्न सहज बनाएको साथै सदस्यहरुले पनि समयमै ऋण चुक्ता गरी सहकारीलाई अघि बढाउन आवश्यक छ’’उनले भनिन् । ‘हाम्रै सहकारी हो भन्ने भवनका साथ उपलब्धितिर अगाडि बढ्न जरुरी छ ।’ उनले यस क्षेत्रको विकासको लागी निरन्तर पहल गरिरहेको साथै प्रदेशको र आफ्नो व्यक्तिगत तर्फबाट सामाजिक कार्यमा सहयोगका लागी सदैव तत्पर रहने उनले बताइन् । सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष लक्ष्मीकुमारी बोहरा गरेकी थिइन् भने संस्थाको आयव्यय प्रस्तुत सह–लेखापाल अशोक विकले गरेका थिए ।
संस्थाको वार्षिक प्रस्तुत प्रतिवेदन अनुसार अत्तरिया क्षेत्रमा न्युनआयस्तर भएका श्रमिकहरुलाई संगठित गर्दै २०६९ सालमा २६ जना सदस्यहरू मिलेर २६ हजार २ सय पुँजीबाट संचालनमा ल्याइएको सहकारी संस्थामा आ.व २०८०\०८१ मसान्तसम्म आइपुग्दा ७ सय ३३ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् ।

यसैगरी यस सहकारी संस्थाको आ व २०८०\०८१ मसान्त सम्ममा ३७ लाख ७४ हजार ७ सय रुपैयाँ शेयरपुँजी रहेको छ । संस्थाले आ व २०८०\०८१ मा १ करोड ५१ लाख ७१ हजार रकम बराबरको आर्थिक कारोबार गरे संगै एक वर्षको अवधिमा सम्पूर्ण खर्च कटाई ६ लाख ४० हजार ४६१ रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०\०८१ मा संस्थाले ७५ लाख ७३ हजार ४७० रुपैयाँ बराबरको निक्षेप संकलन गरेको र संस्थाले ऋणमा १ करोड २० लाख ६० हजार बराबरको लगानी गरेको प्रतिवेदनमा उल्लेखित छ ।
कल्पना जोशी सञ्चालन गरेको सभामा स्वागत मन्तव्य संस्थाका सचिव सरस्वती पण्डितले गरेकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि नेफोनका केन्द्रीय सचिव टीका दत्त जोशी, जिल्ला सहकारी संघका अध्यक्ष फरिराज सापकोटा यस्तै अतिथिमा दुर्गा लक्ष्मी नमूना माविका अध्यक्ष गणेश शाह लगायत विभिन्न संघ÷संस्थाका पदाधिकारी, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।