बझाङ : बझाङमा रातो नम्बर प्लेट भएका १७ वटा जीप ट्राफिक कारवाहीमा परेको छ । यात्रु ओसारपसार गरेको पाइएपछि ती जीपलाई कारवाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले निजी प्रयोजनका लागि किनिएका ती सवारी सार्वजनिक यातायातका रूपमा प्रयोग गरिएको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।
हामीले यस्ता जीपहरूलाई कालो नम्बर प्लेटमा दर्ता गर्न पर्याप्त समय दिएका थियौं । तर, अटेर गरेपछि कारवाही गरेका हौं’, विष्टले भने । जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा पूर्ण निगरानी गर्न कठिन भएको उनले बताए ।
११ जनाको दरबन्दी भए पनि अहिले ८ जनामात्रै कार्यरत छन् । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १४(१५ जना चाहिन्छ । यातायातका साधनको पनि अभाव छ, उनले भने । ट्राफिक प्रहरीले रातो नम्बर प्लेट भएका जीपलाई नियमअनुसार चलाउन र सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने भए कालो नम्बर प्लेट हालेर दर्ता गराउन आग्रह गरेको छ ।