एमाले सचिव लेखराज भट्टले पार्टी छाडेको अफवाह, के हो सत्यता ?

अत्तरिया : नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको अफवाह फैलाइएको भन्दै उनको सचिवालयले कानुनी उपचारको बाटो रोज्ने जनाएको छ ।

पूर्वसचिव भीम उपाध्यायले भट्टले एमाले छोडेको भन्दै पूर्व माओवादीलाई समेत केन्द्रित गरेर तल्लोस्तरको टिप्पणी गरेका थिए । ‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट लगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’

एमाले सचिव तथा इन्चार्जले एमाले छाडेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि अहिले भट्टको सचिवालयले सो विषय सरासर गलत भएको भन्दै प्रस्टीकरण दिएको छ । भट्टका स्वकीय सचिव समेत रहेका एमाले जिल्ला सचिवालय सदस्य हितेस ओझाले पूर्व सचिवको स्ट्याटसको खण्डन गरे ।

‘लेखराज भट्टले एमाले छोड्ने कुरा सोच्नसम्म पनि सक्नुहुन्न । पार्टीको त्यस्तो जिम्मेवार पदमा भएका नेतालाई पार्टी परित्याग गरेको भन्दै लेखिएको स्ट्याटसबारे हामी गम्भीर भएका छौँ’ ओझाले भने, ‘त्यसविरुद्ध हामी कानुनी उपचारमा जान्छौँ ।’
पूर्व सचिव उपाध्यायले भट्टको तस्बिरसहित राखेर सामाजिक सञ्जालमा एमाले परित्याग गरेको लेखेपछि अन्य केहीले पनि त्यही अनुसारको टिप्पणी गरेका छन् । यता भट्टको सचिवालयले भने पार्टी कमजोर बनाउन अफवाह फैलाएको भनेको छ ।
‘केही दिनयता सामाजिक सञ्जाल र केही अनलाइनहरूमा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको समाचारमा गम्भीर ध्यानाकर्षण भएको छ । सम्पूर्ण शुभचिन्तक तथा एमालेका नेता, कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलागी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अनुरोध छ । साथै विचार, सिद्धान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्त्वहरूले एमालेको राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनियतले यस्ता तथ्यहीन कुप्रचार गरिरहेकाले कानुनी कारबाहीको प्रक्रियामा जाने कुरा अवगत गराउन चाहन्छु’ भट्टको सचिवालयले प्रष्ट पारेको छ ।
सोमबार पनि एमाले परित्याग गरेको पत्रमा किर्ते हस्ताक्षर गरेको एमालेले जनाएको छ । पार्टीमा असन्तुष्टि राख्ने २ जनाले थप ४४ जनाको हस्ताक्षर नै किर्ते गरेको एमाले कैलालीको भनाइ छ । पार्टी परित्याग गरेको भन्दै हस्ताक्षरमा नाम रहेकाहरूले आफूलाई एस विषयमा कुनै जानकारी नरहेको बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको प्रष्ट पारेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.