अत्तरिया, २५ पुस : कैलालीको गोदावरी नगरपालिकाले खुटिया नदीमा अनुगमन गरेको छ । विभिन्न सञ्चार माध्याममा अवैध उत्खनन् भएका समाचारहरु प्रकाशित भएपछि नगरपालिकाले बिहिबार उपप्रमुख शारदादेवी रोकायाको नेतृत्वमा अनुगमन गरेको हो ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट र इन्जिनियर इन्जिनीयर पूर्ण कुँवर सहितको टोलि खुटिया र खैराना नदीको अनुगमन गरेको छ । अनुगमनमा गएको टोलीले मापदण्ड विपरीत उत्खनन् नभएको निचोड निकालेको छ ।
उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक रोकायाले मापदण्ड विपरीत उत्खनन् नभएको बताइन् । उनले आफुले नियमित अनुगमन गरिरहेको भन्दै उनले मापदण्ड बमोजि उत्खनन् भइरहेको गरेको बताईन । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भट्टले मापदण्ड बमोजिम उत्खनन् भइरहेको बताए । उनले सञ्चारमाध्यममा आएजस्तो सत्यता नभएको बताए । ‘आइइई मापदण्ड अनुसार ९० देखि १२० सेन्टिमिटर सम्म गहिरो खन्न पाउने हुन्छ’ उनले भने ‘अनुगमनका क्रममा हामीले त्यो भित्रै रहेर उत्खनन गरेको भेटायौ । सङ्कलन केन्द्रमा २ वटा मात्रै इक्साभेटर, जेसीबि प्रयोग गर्नुपर्ने मापदण्ड पनि कार्यान्वयन गरेको भेटियो ।’ उनले १२ फुट १५ फुट गहिरो खनिएको भनेर आएको खबरमा सत्यता नभएको पाइएको बताए ।
इन्जिनियर कुँवरले आइईई प्रतिवेदनअनुसार तोकिएको स्थानमा १ मिटरभन्दा बढी गहिराइमा उत्खनन नगरिएको र सम्पूर्ण प्रक्रिया मापदण्डअनुसार सञ्चालन भएको जानकारी दिए । नगरस्तरीय अनुगमन समितिले ठेकेदारलाई मापदण्ड अनुसारको काम निरन्तर गर्न निर्देशन दिएको छ । साथै, सबै पक्षलाई निगरानी बढाउन आह्वान गरिएको छ ।
त्यस्तै कार्यपालिका सदस्य चन्द्रा भुलले नेकपा एमालेले जुनमुद्धामा उठान गरेको छ जायज भएको तर, उहाँले भनेजस्तो त्यस्तो कुनै गलत नभएर कानुन सम्मत नै उत्खनन् भइरहेको बताईन् ।
नगरपालिका र ठेकेदार कम्पनीले सम्झौत अनुसारको कार्य सम्पन्न गरिरहेको जनाएको छ । नगरपालिकाले खोलाको बहाव र संरचना बिग्रने गरी कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको र त्यसको पालना भइरहेको दाबी गरिएको छ । अनुगमन टोलीले खुटिया र खैराना नदीमा मापदण्डअनुसार उत्खनन भइरहेको निष्कर्ष निकालेको छ । नगरपालिकाले वातावरणीय प्रभाव र स्थानीय जनताको चासोका विषयलाई ध्यानमा राखी आगामी दिनमा पनि नियमित अनुगमनलाई प्राथमिकता दिने जनाएको छ । बुधबार मात्र नेकपा एमाले गोदावरी नगरकमिटिले खुटियामा अनुगमन गर्दै अवैध नदीजन्य सामग्री उत्खनन् भईरहेको आरोप लगाएको थियो ।
