काठमाडौं: विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टीकापुर जग्गा प्रकरणबारे फैसला गरेको हो । दोषी ठहर टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ । उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर गरेको छ । यस्तै, केशरबहादुर कुँवर र राजु आचार्यले सफाइ पाएका छन् । अदालतले दोषी ठहर गरेका सबैलाई डेढ महिना कैद र १३ लाख सात हजार जरिवाना हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढङ्गले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियोे ।
अदालतले टीकापुरको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएकाहरूको जग्गा जफत हुने र नगर विकास समितिको हुने ठहर गरेको छ । अख्तियारले नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा उक्त समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियोे । यसप्रकार पहिले नै निवेदन दिई दा।खा। नामसारी हुन बाँकी रहेका निवेदकहरुको घडेरी प्रमाणित पत्रमा भएका अंक, अक्षर र छापसँग यी प्रतिवादीहरु रहेको समितिले जारी गरेको सूचनापश्चात् पेस भएका घडेरी प्रमाणित पत्र र घडेरी प्लटको असूली पुर्जी रसिदमा भएको अंक, अक्षर र छाप विशेषज्ञको जाँच प्रतिवेदन अनुररूप मिलेरभिडेको देखिन आएन।’
नगरविकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी तथा उपसमितिका संयोजक गणेश सिंह रावल तथा निजको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह एवं उक्त समितिका सदस्यसचिव अम्बादत्त जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द, मालपोत अधिकृत जयबहादुर विष्ट दोषी ठहर भएका छन् ।
निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ज) बमोजिमको कसूर गरेको ठहर गर्दै कसूरको मुख्य भूमिकामा रहेका प्रतिवादी नेत्र प्रसादसँग १३ लाख सात हजार ३०० जरिवाना हुने ठहर गरेको छ । टीकापुर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशीलाई थप ३ महिना कैद समेत हुने फैसला गरेको छ। प्रतिवादीहरु श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बात्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई जनही ३ महिना कैद र बिगोको दामासाहीले जनही १३ लाख सात हजार ३०० जरिवाना हुने फैसला भएको छ।