हिमशिखर सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको साधारण सभाको मुख्य अतिथि राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पछिल्लो समय केही सहकारी संस्थाहरुमा बचत रकम अपचलन भएकाले बदनामित हुँदै गएको बताए । उनले भने ‘केही सहकारीमा सर्वधारणले मकै पोलेर जम्मा गरेको पैँसा अपचलन भएको छ । सहकारीहरुले जनतामा विश्वास बढाउँदै जानुपर्ने अवस्था छ’, उनले भने ।
साधारण सभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका व्यवस्थापक महेन्द्र शाहीले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव २०८०/०८१ सम्म संस्थाको निक्षेप ५० करोड २३ लाख ५९ हजार कायम भएको बताए । उनले आव २०७९/०८० को तुलनामा आव २०८०/०८१ निक्षेप २६ दशमलव ७३ प्रतिशतले वृद्धि भएको बताए । त्यस्ते गत आवमा संस्थाको आम्दानी तीन करोड ४५ लाख १५ हजार रहेको उनले बताए ।
उनले गत आवको असार मसान्तसम्म संस्थको नगद र बैंक मौज्दात नौ करोड ५५ लाख ६४ हजार रहेको बताए । कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज ओझाले आन्तरिक लेखा परीक्षण प्रतिवेदनको बारेमा प्रस्तुत गरेका थिए ।
साधारण सभामा सहकारी क्षेत्रमा कलम चलाए बापत पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा नगद पाँच हजारसहित सम्मानित भएका थिए । संस्थाले एक उत्कृष्ट कर्मचारी, सहकारीमा आवद्ध ४ जना जेष्ठ सदस्य, ५ जना उत्कृष्ट बचत सदस्य र ५ जना असल ऋणीलाई सम्मान प्रदान गरेको हो ।
साधारण सभाको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए । साधारण सभामा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य, ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.