सहकारी ठगी प्रकरण : रविलाई ६० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुट्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। उनका अनुसार लामिछाने धरौटी बुझाउने तर्खरमा छन्। ‘हामी प्रशासन शाखामै छौं, उहाँहरू आइपुग्नुभएको छैन।’ सूचना अधिकारी चन्दले भने।

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए। दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो। त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.