अत्तरिया, ४ माघ : गोदावरी नगरपालिका वडा नं. १० मा रहेको जानकी माध्यमिक विद्यालय, ओलानीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको शुभारम्भ गरिएको छ । गोदावरी नगरपालिका वडा नं. १० का अध्यक्ष रविन्द्र शाहीले शुक्रबार कार्यक्रमको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रविन्द्र शाही (गुडुु) ले शिक्षालाई कितावि ज्ञानसम्म सीमित नराखी विद्यार्थीहरूको बहुआयामिक विकासका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । वडा अध्यक्ष शाहीले कार्यक्रममा वडाबाट ३ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । “विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, र सामाजिक कौशललाई अभिवृद्धि गर्दै उनीहरूलाई व्यवहारिक ज्ञान दिने यो कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ,” उनले भने । कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार शिक्षाका अतिरिक्त खेलकुद, सांगीतिक प्रस्तुति, स्वास्थ्य सम्बन्धी तालिम, सामुदायिक सेवा, तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने भएको बताए ।
शाहीका अनुसार यस वर्षको कार्यक्रमको प्रभाव मूल्यांकन गरी आगामी वर्ष थप बजेटको व्यवस्था गर्दै बृहत् कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । यस्तै विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले कार्यक्रममा “बुक फ्री फ्राइडे“ अन्तर्गत हरेक हप्ताको शुक्रबार विद्यार्थीसँग किताब नल्याई विभिन्न अतिरिक्त क्रियाकलाप गराइने जानकारी दिए । उनले शिक्षालाई प्राथमिकता दिँदै “केवल किताबी ज्ञान पर्याप्त हुँदैन, प्रतिस्पर्धात्मक युगमा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन आवश्यक छ,“ उनले भने ।
उनले कार्यक्रम अन्तर्गत कला, संगीत, खेलकुद, सामुदायिक सेवा, सिर्जनशील लेखन, सार्वजनिक बोल्ने सीप जस्ता गतिविधिहरू सञ्चालन हुने र यसले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास रहेको बताए । विद्यार्थीको हौसला अभिवृद्धि गर्दै कार्यक्रममा धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिले ३१ जना विद्यार्थीलाई झोला, कपी, पेन ,पोशाक जस्ता शैक्षिक सामग्री वितरण गरेको थियो । साथै विद्यालयका राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगितामा रजत पदक जितेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यसले स्थानीय कला, संस्कार र संस्कृति झल्काउँदै समाज र विद्यालयबीच सकारात्मक सम्बन्ध कायम राख्न समारोहमा विद्यार्थीहरूले विभिन्न भेषभूषामा सांस्कृतिक प्रस्तुति दिएका थिए । उक्त “बुक फ्री फ्राइडे“ कार्यक्रमले गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा नयाँ अभ्यासको सुरुवात गरेको छ । विद्यार्थीहरूले यस कार्यक्रमलाई आफूले रुचाउने क्षेत्रमा ज्ञान र अनुभव बढाउने प्लेटफर्मका रूपमा लिने अपेक्षा गरिएको छ ।
सम्बन्धित पाेस्टहरु