अत्तरिया सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, ५ माघ : गोदावरी नगरपालिका अत्तरिया सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा र मुखपत्र समर्पण विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
अत्तरिया सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टीकादत्त जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट र विशिष्ट अतिथि नगर उप प्रमुख शारदा देवी रोकाया उपस्थित थिए ।
सभामा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्टले समग्र विकासका लागि सबैले सकारात्मक सोच र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले सिकाई केन्द्रले आदिवासी, जनजाति, दलित लगायतका सबै वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै रोजगार मुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रशंसा गरे । साथै, आगामी दिनमा यस संस्थालाई आवश्यक पर्ने सबै सहयोग नगरको तर्फबाट उपलब्ध गराउन प्रतिवद्धता व्यक्त गरे ।
सिकाई केन्द्रका संस्थापक अध्यक्ष भीमबहादुर बलायरले सामुदायिक सिकाई केन्द्रले शिक्षा र सीपमार्फत समुदायका मानिसहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पगाइरहेको बताए । उनले केन्द्रले अनौपचारिक शैक्षिक कार्यक्रमहरूका माध्यमबाट आधारभूत शिक्षा, सीप र स्वरोजगारका अवसरहरू प्रदान गर्दै समग्र समुदायलाई सशक्त बनाउने कार्यमा निरन्तर प्रयास गरिरहेको कुरा स्पष्ट गरे ।
सिकाई केन्द्रका सचिव हरिलाल ओझाले वार्षिक (आयव्यय) प्रतिवेदन प्रस्तुत गर्दै ०८०÷०८१ आर्थिक वर्षमा ९ लाख ३० हजार ३२४ रुपैयाँ आम्दानी र ६ लाख १४ हजार ७१६ रुपैयाँ खर्च भएको जानकारी दिए । साथै यस वर्षको बचत ३ लाख १५ हजार ६०८ रहेको छ ।
यस्तै केन्द्रले शिप विकास तालिम, उद्यम विकास तालिम, वातावरण संरक्षण कार्यक्रम, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा समावेश गर्ने अभियान, कृषक समूहलाई बिउ वितरण, सांस्कृतिक संरक्षणका साथै अन्य विविध कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष र नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिइन्, भने स्वागत मन्तव्य संस्थाका सदस्य नन्द राज भट्टले व्यक्त गरे ।
सामुदायिक सिकाई केन्द्रले शिक्षा र सीपको माध्यमबाट समुदायका मानिसहरूको जीवनस्तर सुधारमा निरन्तर योगदान पुगाउँदै आइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.