अत्तरिया : डोटीमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ टाँग भन्ने ठाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । शुक्रवार स्थानीय नर बहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्षहरूमा स्वास्थ्य समस्या देखा परेको स्वास्थ्य शाखाका बमबहादुर खड्काले जानकारी दिए ।
स्वास्थ्यकर्मी खड्काका अनुसार शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको खड्काले बताए ।
बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ । भोजमा सुजी खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।