अत्तरिया, ७ माघ : गोदावरी नगरपालिकाले किशोरीहरुलाई एचपिभी खोप लगाउने भएको छ । सोमबार नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी नगर उप प्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यमा अभियानको उद्घाटन गरी शुभारंभ गरिएको थियो ।
गोदावरी नगरपालिकामा माघ २२ गते देखि पाठेघरको मुखको क्यान्सर जस्ता घातक रोग लाग्न बाट बच्नको लागि उक्त एच पि भी खोप अभियान सञ्चालन हुन् गइरहेको हो । सोमबार आयोजित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले सहजीकरण गर्दै पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच पि भी खोप सम्बन्धी जानकारी, राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य यसका उपलब्धिहरू, रोगको रोकथाम रणनीति सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेका थिए ।
नगरले खोप निःशुल्क छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ भन्ने नाराका साथ एचपिभी खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम तालिम सञ्चालन गरिएको थियो । भने स्वास्थ्य शाखाको अनुसार वडा स्तरीय, स्वास्थ्यकर्मीहरु, स्वयंसेविका लगायत शिक्षकहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिने भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । उक्त खोप सञ्चालनको पूर्व तयारी गरिएको सँगै नगर भित्र १२ वटै वडाहरूमा घर–घरमा गएर युनिसेफ संस्था संगको सहकार्यमा किशोरीहरुको तथ्याङ्क संकलन अनुसार ६६६४ जना किशोरीहरुलाई खोप लगाउने अभियान सञ्चालन गर्न गइरहेको बताए ।
राष्ट्रिय खोप कार्यक्रमको प्रमुख उद्देश्य पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यून गर्दै किशोरीहरूको जीवन सुरक्षित बनाउनु हो । यसका साथै, किशोरीहरूको स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याई उनीहरूलाई सशक्त बनाउन अभियानले भूमिका खेल्ने विश्वास गरिएको छ ।
उनले तथ्यांक अनुसार विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षा सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुका लागी खोप अभियान सञ्चालन गरिने भएको छ । उक्त अभियानमा १०६ जना स्वयसविका, १८२ जना स्वंसेवक र ११७ जना स्वास्थ्यकर्मीहरु गरी १८ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिने भएको छ । पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको अभियान नेपाल भरी माघ २२ गते देखि सुरु भई फागुन ६ गते सम्पन्न गरिने लक्ष्य राखिएको बताए । उनले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन तथा किशोरीहरूको स्वास्थ्य सुदृढ गर्न महत्वपूर्ण पहलका रूपमा अघि बढ्ने बताए ।
पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने प्रमुख क्यान्सरमध्ये एक हो, र यसको रोकथामका लागि एच.पी.भी. खोप अत्यन्त प्रभावकारी हुने भएको साथै यो खोपले भविष्यमा महिलाहरूलाई क्यान्सरको जोखिमबाट जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको बताए । संघीय सरकारले छुट्याएको बजेटबाट उक्त पाठेघरको क्यान्सर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको हो । साथै उक्त खोप अभियान युनिसेफ संगको सहकार्यमा समापन गरिने भएको छ । खोप अभियान ६३ वटा खोप केन्द्र र १८ वटा स्वास्थ्य संस्थामा सञ्चालन गर्ने भएको हो ।
सम्बन्धित पाेस्टहरु