अत्तरिया, ९ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ ले युवाहरुलाई विदेश पलायनमा पठाउने नीतिले देशको दीर्घकालीन समृद्धि रोकिरहेको आरोप लगाएका छन् ।
धनगढीमा आयोजित ‘एकीकृत जनक्रान्ति जिन्दावादः समसामयिक विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरु युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा विदेश पठाएर रेमिट्यान्सबाट तलव–भत्ता खानेमा सीमित रहेको दाबी गरे ।
कार्यक्रममा बिप्लवले मिठा नारा र भाषणले देशमा समृद्धि ल्याउन नसक्ने जिकिर गरे । “नेताहरुले सम्बृद्धि ल्याउने दावी गर्छन्, तर दैनिक हजारौँ युवा देश छोडिरहेका छन्,” उनले भने । बिप्लवका अनुसार, शीर्ष नेताहरुले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ जस्ता कार्यक्रम ल्याएर विदेश पलायनलाई झनै प्रोत्साहन गरिरहेका छन् ।
बिप्लवले अहिलेको परिस्थितिमा १२ कक्षा पास गरेलगत्तै विदेश जाने लहरले देशलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेको तर्क गरे । “प्राविधिक ज्ञान हासिल गर्न विदेश जानु ठीक हो, तर यो लहर ठिक होइन । यसले नेताहरुको तलव–भत्ता सुनिश्चित गर्ने माध्यममात्र बन्नेछ,” उनले भने ।
महासचिव चन्दले देशमा आत्मनिर्भरताको वातावरण सिर्जना नगरेसम्म युवाहरु विदेश पलायन रोकिने सम्भावना नरहेको बताए । “यदि अहिले आत्मनिर्भरता अभियान थाल्न सके, २० वर्षभित्र नेपाल आत्मनिर्भर बन्न सक्छ,” उनले भने । राजनीतिक अस्थिरतालाई देशको आर्थिक विकास नहुनुको प्रमुख कारण बताउँदै बिप्लवले सरकारहरुको छोटो आयुले विकासका योजनाहरु पूर्ण हुन नसकेको उल्लेख गरे । “छिमेकी देशमा १५ वर्ष एउटै सरकारले काम गर्छ, हामीकहाँ सरकार ६ महिना पनि टिक्दैन,” उनले भने । चन्दले काम र दिगो प्रभाव पार्ने एजेन्डामा ध्यान दिनुपर्नेमा हल्लाको पछाडि दौडिने प्रवृत्ति बढेको टिप्पणी गरे । “यस्तो प्रवृत्तिले भविष्यमा गम्भीर समस्या ल्याउन सक्छ,” उनले चेतावनी दिए ।
महासचिव चन्दको भनाइले युवा पलायन रोक्ने र देशभित्रै आत्मनिर्भर हुने वातावरण निर्माण गर्ने बहसलाई थप उचाइ दिएको छ ।
सम्बन्धित पाेस्टहरु