कृष्णपुर शान्तिपुर र गोदावरी मनहरा जोड्ने पक्की पुल नहुँदा समस्या

आकाश कार्की
अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुर र कैलालीको गोदावरी नगरपालिका–१ मनहरा जोड्ने झोलुंगे पुलले स्थानीयलाई दैनिक आवतजावतमा ठूलो समस्या भएको छ ।
पक्की पुल नहुँदा दैनिक जीवनयापनमा समस्यामा परिरहेका छन् । विशेषगरी, भौतिक निर्माणका लागि आवश्यक बालुवा, सिमेन्ट, इँटा, र फलामजस्ता भारी सामग्री ओसारपसार गर्न उनीहरूलाई ठूलो चुनौती भइरहेको छ ।
स्थानीय विकासका लागि भौतिक पूर्वाधार निर्माण आवश्यक भए पनि पक्की पुलको अभावले निर्माणको काम ढिलो भइरहेको छ । व्यापारिक सामग्री ढुवानी गर्न र उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुगाउन स्थानीयलाई निकै महँगो पर्न थालेको हो । सम्बन्धित निकायले पटकपटक पुल निर्माणको आश्वासन दिए पनि हालसम्म कुनै ठोस प्रगति देखिएको छैन । स्थानीयले आफ्नै श्रम र साधन प्रयोग गरेर अस्थायी पुल बनाउने प्रयास गरे पनि वर्षायाममा ती पुल बग्ने समस्या निरन्तर जारी छ ।
पक्की पुल नहुँदा करिब ६÷७ किलोमिटरको परिधिबाट मात्रै सामान ढँुवानी गर्नुपर्ने बाध्यता हुँदा स्थानीयवासीले भौतिक निर्माणका लागि आवश्यक सामग्री ल्याउन कठिनाई खेपिरहेका छन् । पुल कमजोर र अस्थायी भएकाले भारी सामग्री ओसारपसार गर्न चुनौती थपिएको हो ।
स्थानीय बासिन्दाहरूको दैनिकी झोलुंगे पुलकै भरमा चलेको छ । विद्यार्थी, कृषक, व्यापारीदेखि सर्वसाधारण सबैलाई यो पुल तर्दा जोखिमको सामना गर्नुपर्छ । भारी निर्माण सामग्री जस्तै सिमेन्ट, फलाम, बालुवा, इँटा लगायतका सामग्री ढुँवानी गर्न प्रत्यक्ष पुल प्रयोग गर्न नसक्दा उनीहरूले लामो दूरीको बाटो रोज्नुपरेको छ । यसले गर्दा समय, श्रम र खर्च अत्यधिक बढेको छ । स्थानीय नविनसिंह ठगुन्नाले पक्की पुल नहुँदा निर्माण सामग्रीहरु ढुँवानी गर्न समस्या हुने गरेको बताए । ‘झोलुंगे पुलको भरमा ओहोरदोहोर गर्नुपर्दछ’, उनले भने ‘त्यसमा चार पाङग्रे गाडी लिन सकीदैन । त्यसले गर्दा स्थानीयहरुलाई ज्यादै नै समस्या भएको छ ।’ यसमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको उनले बताए ।
बर्षातको समयमा झोलुंगे पुलमा झन् जोखिम हुने भएकाले धेरैजसो स्थानीयले तत्काल पक्की पुल निर्माणको माग गरिरहेका छन् । निर्माण सामग्री ढुँवानीमा मात्र समस्या होइन स्थानीयले उत्पादन गरेका कृषि सामग्रीका लागि पनि त्यतिकै समस्या हुने गरेको छ । कृषिजन्य उत्पादन ढुँवानीमा समस्या हुने गरेको स्थानीय कृषिक पवन भट्टले बताए ।
निर्माण सामग्री ढँुवानी गर्न असहज हुँदा कञ्चनपुर र कैलालीको सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि सुस्त बनेको छ । स्थानीय उत्पादन बजारमा लैजान र दैनिक उपभोग्य सामग्री ल्याउन पुलको कमजोर अवस्थाले बाधा पुगाएको छ । कृषिजन्य उत्पादन पनि समयमै बिक्री गर्न नसक्दा किसानहरू घाटामा छन् ।
स्थानीय निकायले पुलको विषयमा पटक–पटक प्रतिबद्धता जनाए पनि हालसम्म स्थायी समाधानको काम सुरु भएको छैन । यदि द्रुतगतिमा पक्की पुल निर्माण गरिएमा दुर्गम क्षेत्रका बासिन्दाहरूको जीवनस्तरमा सुधार आउने स्थानीयको विश्वास छ । यदि शीघ्र पक्की पुल निर्माण भएमा स्थानीयलाई दैनिक जीवन सहज हुने मात्र नभई आर्थिक गतिविधि पनि तीव्र हुने अपेक्षा गरिएको छ । गाउँका कृषकहरूले आफ्नो उत्पादन सहजै बजारसम्म पुगाउन सक्नेछन् भने निर्माण सामग्री ढुवानी पनि छिटो र सुरक्षित हुनेछ ।
स्थानीयले सरकार र जनप्रतिनिधिहरूलाई तुरुन्तै पक्की पुल निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । जनजीवन सहज बनाउँदै दुर्गम क्षेत्रको समग्र विकासको ढोका खोल्न पक्की पुल अपरिहार्य भएको स्थानीयको भनाइ छ । स्थानीयले सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएर द्रुत रूपमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । पक्की पुल बनेमा स्थानीय विकास तीव्र हुने, ढुँवानी सरल हुने र जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.