
अत्तरिया : नेपाली कांग्रेसले आफ्नो पार्टीबाट स्थानीय निकायमा जित हासिल गरेका उत्कृष्ट काम गर्ने स्थानीय तहका प्रमुख र सहयोग गर्ने दातालाई सम्मान गरेको छ । शुक्रबार धनगढीमा भएको पार्टीको जिल्लामा भेलामा सम्मान गरेको हो ।
यस्तै पार्टीलाई सबैभन्दा बढी लेवी तिरेका निकायलाई सम्मान गरेको हो । कैलाली जिल्लाका गोदावरी नगरपालिका र कैलारी गाउँपालिका, जानकी गाउँपालिकालाई विशेष सम्मान प्रदान गरिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सम्मान पत्र ग्रहण गरेका हुन । सम्मान ग्रहण गर्दै उनले स्थानीय निकायको दायित्व मात्र नभई पार्टीप्रतिको उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिने बताए । उनले भने, हाम्रो प्राथमिकता नगरवासीको सेवा हो, तर पार्टीलाई आर्थिक रूपमा सुदृढ बनाउन योगदान पु¥याउनु पनि हाम्रो जिम्मेवारी हो ।’
यस्तैगरी नेपाली कांग्रेस गोदावरी नगरपालिका नगर सभापति वीरबहादुर चोखाललाई पनि पार्टीले सम्मान गरेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा योगदान पुगाएका निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त, कैलाली उधोग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा शर्मालाई पनि सम्मान गरेको हो ।
कांग्रेसले स्थानीय निकायमा विजयी भएका आफ्ना प्रतिनिधिहरूले तिरेको लेवीको आधारमा सम्मान गर्ने परम्परा अघि बढाएको छ । पार्टीको आर्थिक सुदृढीकरणमा स्थानीय तहको योगदान महत्वपूर्ण हुने भएकाले यस्तो सम्मान कार्यक्रम गरिएको पार्टी स्रोतले जनाएको छ ।
कार्यक्रममा कांग्रेस कैलालीका नेता तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले पार्टीलाई आर्थिक रूपमा सक्षम बनाउन स्थानीय निकायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कैलारी गाउँपालिकाका प्रतिनिधिहरूले पनि सम्मान ग्रहण गरेका छन् । सम्मानले स्थानीय जनप्रतिनिधिहरूलाई अझ जिम्मेवार बनाउने र पार्टीप्रति उनीहरूको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने कांग्रेस नेताहरूको धारणा छ ।
कैलाली जिल्ला सम्मेलनको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी छन् । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पदाधिकारीहरू, पालिका सभापति, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थिए ।
