पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आयो, राष्ट्र जोगाउने, हामीलाई साथ दिनुस्’

काठमाण्डौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गरेका छन्। उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए।

सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताए। ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन,’ उनले भने, ‘पक्ष-विपक्षको अहंकार, व्यक्तिगत स्वार्थ र हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन।’

पूर्वराजाले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आर्थिक संकट, जनशक्ति पलायन र राष्ट्रिय पहिचान कमजोर भइरहेको उल्लेख गरे। ‘नेपालीको पसिना आफ्नै भूमिमा होइन, विदेशमा बगिरहेको छ,’ उनले भने, ‘जन्मदै नेपाली नागरिक ऋणभारको बोझ बोकेर अघि बढ्न बाध्य छन्, शिक्षालयहरू र व्यापार(व्यवसाय कमजोर बन्दै गएका छन्।’

शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे। ‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।’ उनले सबैलाई राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गर्दै सन्देशको अन्त्यमा नेपालका लागि शुभकामना व्यक्त गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.