
अत्तरिया, १३ फागुन : गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको जे.के. अंग्रेजी माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष प्रेमबहादुर बोगटीको सभापतत्वमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा गोदावरी प्याब्सन नगर कमिटी पूर्व अध्यक्ष तथा खप्तड विद्या निकेतनका संस्थापक श्यामबहादुर खत्री, लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल मानबहादुर ऐर रहेका थिए ।
वार्षिकोत्सव समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले संस्थागत विद्यालयहरूले ठूलो लागतमा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पहिलेको भन्दा शिक्षा क्षेत्रमा हाल नगरपालिका अब्बल दर्जाको रुपमा अगाडी बढ्ने विश्वास लिएको बताउँदै नगरपालिकाले शैक्षिक क्षेत्रमा उच्च प्राथमिकता दिएको बताए ।
नगर प्रमुख भट्टले संस्थागत र सामुदायिक विद्यालयहरूमा कुनै भेदभाव नराखी समान अवसर प्रदान गर्ने नीति अपनाइएको र यसैक्रममा निरन्तर प्रयास भइरहेको बताए । उनले गेटा मेडिकल कलेजलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने योजना प्रस्तुत गर्दै, यसले शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विश्वासका साथ आगामी दिनहरूमा थप प्रगतिको अपेक्षा गरिएको बताए ।
यस्तै, वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक लगायत अतिरिक्त क्रियाकलापहरु उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले पुरस्कार वितरण गरेको थियो । २०४८ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १० सम्म पठनपाठन भइरहेको साथै स्थापनाकाल देखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको छ । हाल विद्यालयमा ५ सय २५ जना विद्यार्थीहरु अध्यनरत रहेका विद्यालयका सह–प्रधानाध्यापक नबिन भट्टले जानकारी दिए ।
वार्षिकोत्सव समारोहमा शिक्षिका मीना थापा र कक्षा १० मा अध्यनरत बिधार्थी रश्मी भट्टले अतिथिहरुलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सह–प्रधानाध्यापक नवीन भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
