
धनगढी, १४ फागुन : कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बीनी प्रदेशले जितेको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बीनीले जितेको हो ।
बुधबार भएको फाईनल खेलमा सुदुरपश्चिम प्रदेशलाई टाईब्रेकरमा हराउँदै लुम्बीनी प्रदेशको प्रतिनिधित्व गरेको राईजिङ स्टार क्लब च्याम्पीयन भएको हो । विजेता भएसँगै लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले ५ लाख नगद सहित ट्रफी पाएको छ । उपविजेतामा सिमिति भएको सुदुरपश्चिम प्रदेशले दुई लाख पचास हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ ।
बुधबार भएको फाईनल भिड्न्तमा दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । त्यसपछि भएको टाईब्रेकरमा लुम्बीनीले सुदूरपश्चिमलाई गोल ५–३ गोल अन्तर हराएको हो । लुम्बीनीमका लागि अभिषेक तामाङ, किरन योगी, चेतन थारु, दिपकराज ठकुरी र रञ्जित चौधरीले गोल गरे । सुदूरपश्चिमका लागि हिमाल सिंह, विमल ओली, नरेन्द्र चौधरीले गोल गरे भने गोलरक्षक कुम्भ देउवाको प्रहार गोलमा परिणत हुन सकेन् । खेलमा लुम्बीनी प्रदेशका गोलरक्षक प्रतिक सुनार म्यान अफ द म्याच भए । उनले नगद पाँच हजार सहित ट्रफी पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम प्रदेशका नरेन्द्र चौधरी भए । उनले नगद पचास हजार सहित ट्रफी पाए । यस्तै उत्कृष्ट प्रशिक्षक लुम्बीनी प्रदेशका सुन्दर पोखरेल, उत्कृष्ट रक्षक लुम्बीनीकै रञ्जित चौधरी, उत्कृष्ट गोलरक्षक लुम्बीनीकै प्रतिक सुनार, सर्वाधिक गोलकर्ता सुदुरपश्चिमका श्याम विनाडी भए । उनीहरुले जनही नगद १५ हजार सहित ट्रफी पाए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरवहादुर बलायर, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहेको थियो । समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।
