
धनगढी, १५ फागुन : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले समाजमा आध्यात्मिक जागरण आवश्यक रहको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय धनगढीले आयोजना गरेको शिवरात्रि महोत्सवमा प्रदेश प्रमुख मियाँले समाजमा रहेका विकृति र विसङ्गतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका थिए ।
‘समाजमा पछिल्लो पटक विकृति र विसङ्गति बढिरहेको देखिन्छ, त्यसलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक छ’ प्रदेश प्रमुख मियाँले भने ‘यस्ता कार्यक्रमहरूले समाजमा आध्यात्मिक जागरण फैलाउन मद्दत गर्छ ।’
शिवरात्रिको अवसरमा शुभकामना दिँदै उनले सबै चाडपर्व नेपाली समाजमा भातीत्व र एकताको सन्देश दिएको बताएका थिए । प्रदेश प्रमुख मियाँले मानव जीवन के हो र जीवन निर्वाह कसरी गर्ने भन्नेबारे ज्ञान प्राप्त गर्न सकिएमा मानवको कल्याण हुने बताएका थिए ।
सबैले मान्ने धर्मप्रति सम्मान एवं आदर गर्न सकिएमा समाज थप सभ्य एवं सुसंस्कृत हुने उनको भनाए थियो । उनले भने, ‘सुदूरपश्चिम प्रदेश धर्म, संस्कृति, पर्यटनलगायतका दृष्टिमा सुन्दर रहेकाले यसलाई उजागर गर्न ब्रह्मकुरी ईश्वरीय विद्यालयले पहल गर्न जरुरी छ ।’ ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढीका प्रमुख ब्रह्मकुमारी हिरी दिदीले विकार र विकृतिले डुबेको मानवको मनलाई भगवानले नस्विकार्ने बताउँदै आफ्नो मनभित्रको विकृति र नकारात्मक गतिविधिलाई त्याग्न सकिएमा सबैको कल्याण हुने बताएकी थिइन् ।
प्रदेश प्रमुख मियाँले धनगढीस्थित शान्ति बाल उद्यानमा झन्डोत्तोलन गरेका थिए । कार्यक्रममा विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, संसद्मा तथा पूर्व मन्त्री सन्तोष शर्मा थापा, पूर्व सांसद तथा राज्यमन्त्री टेकबहादुर रैका, मुख्य न्यायाधीवक्ता ठेकेन्द्र राज जोशी, उपकुलपति डा. टी एन जोशी, गुरुदिप सिंह नैनमुद्दिन भाट, सिद्धराज पनेरु, वीरबहादुर जेठारा लगायतले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय धनगढीले आयोजना गरेको कार्यक्रम र त्यसको महत्वबारे चर्चा गरेका थिए । ब्रह्माकुमारी दुर्गा बैनीले स्वागत गरेको उक्त कार्यक्रममा ब्रह्माकुमारी हिरा दिदी सभापति थिइनन् ।
