
अत्तरिया, १६ फागुन : कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको भैरव प्राथमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेमा श्री फाउन्डेसन नेपालले बिहीबार विद्यालयमा अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा रातो सदन प्रथम, पहेँलो सदन दोस्रो, सेतो सदन तेस्रो र निलो सदनले सान्त्वना स्थान हासिल गरेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले बताए ।
प्रतियोगितामा विजेतालाई बिहीबार नै गौरीगंगा नगरपालिका नगर उप–प्रमुख भोजबहादुर बमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा बमले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको पाठ्यक्रमका साथ साथै बाहिर ज्ञान आर्जन गर्न टेवा पुग्ने बताए ।
हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमले विद्यार्थीहरूको अन्तनिहित प्रतिभा प्रस्फुटन गर्न र विद्यार्थीहरूमा बौद्धिक क्षमता वृद्धि गर्नमा टेवा पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरेको कार्यवाहक अध्यक्ष हेमन्त जोशीले बताए ।
कार्यक्रममा वडाध्यक्ष टेकबहादुर कुँवर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक, शिक्षक र विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए । फाउन्डेसनले विगत देखि सामाजिक कार्य र बालबालिकाको संरक्षणमा विभिन्न कार्य गर्दै आएको छ ।
