बाघ गाउँ पसेपछि गाउँले त्रसित, नियन्त्रण गर्न माग

अत्तरिया : कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणमा आउन नसकेपछि वनकर्मी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण र सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका छन् । बाघले शुक्रवार राति हरिप्रसाद चौधरीको बाच्छोलाई मारेको थियो । बाघ सिनो खान पुनः आएको बेला नियन्त्रणको प्रयास गर्ने टोलीको तयारी थियो । तर, दिनभरि गहुँबारीमा बसेको बाघ शनिवार राति सिनो खान नआएको डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेशकुमार यादवले बताए ।

उनले हिजो दिनभरि बसेको ठाउँबाट बाघ राति अन्यत्र सरेको जानकारी दिए । “आज ड्रोन उडाएर हेर्दा हिजो बसेको गहुँमा बाघ छैन”, उनले भने,“पुरानो ठाउँबाट अन्यत्र सरे जस्तो छ ।”

शुक्रवार राति टेंढुवा गाउँ पसेको बाघ दिनभरि स्थानीय विमला चौधरीको गहुँवारिमा बसेको थियो । तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती नपुगेकाले नियन्त्रणमा लिइएन । हात्तीबिना बाघलाई डार्ट गर्न (लट्ठयाउन) जोखिमपूर्ण रहेकाले हिजो डार्ट नगरेको यादवको भनाइ छ । उनका अनुसार बाघ बसेको ठाउँ वरिपरि चारैतिर मानव बस्ती छ । ५०\६० मिटरको दूरीमा हजारौँको सङ्ख्यामा मान्छेहरू हेरिरहेका थिए । डार्ट गर्दा चुकेमा बाघले कैयौँ मान्छेको ज्यान लिन सक्ने स्थिति देखिएपछि जोखिम नमोलेको यादवको भनाइ छ ।

बाघ नियन्त्रणका लागि शुक्लाफाँटा निकुञ्जबाट शनिवार हिँडेको हात्ती अझै टेंढुवा पुगिसकेको छैन । हात्तीलाई राति बेलडाँडीमा बसाइएको थियो । आज पुगेपछि हात्तीको सहयोगमा बाघको खोजी गर्ने यादवले बताए । तबसम्म स्थानीय सबैलाई सतर्क र सुरक्षित बस्न उनको आग्रह छ । यादवले बाघले आफूले मारेको सिनो खान फर्कने सम्भावना ८० प्रतिशत रहने गरेको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.