राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकीय स्थल ओझेलमा

अत्तरिया : कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णालीनदी लगायत सुर्खेतका गाउँहरु र हिमालहरु देखिन्छन् भने दक्षिण तराईखण्ड छर्लङ्ग देखिन्छ । त्यसैले पनि त्यो ठाउँ पुग्ने जोकोहीले रमणीय ठाउँको रुपमा लिने गरेका छन् ।

ऐतिहासिक महत्व बोकेको उक्त ठाउँको भने प्रचारप्रसार नहुँदा ओझेलमा छ । राजकाडाँ धुलीकोट दरबारको ऐतिहासिक महत्व एकातर्फ छ भने अर्कोतर्फ तेहाबाट देखिने सूर्याेदय र सर्यास्तको मनोरम दृश्य मनमोहक नै रहेको त्यहाँ पुग्ने जो कोही बताउन्छन । धुलीकोट नामकरणका सन्दर्भमा प्रा.डा.राजाराम सुबेदीले ‘धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण’ लेखमा धेरै आधारहरु उल्लेख गरे । ती आधारहरुमध्ये “धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलाली बडाचौरबाट हेर्दा घरको धूरी त्यसलाई धुरीकोटभन्दा भन्दै धुलीकोट भयो” भन्ने उल्लेख छ ।

नेपाल एकीकरण हुनुपूर्व धुलीकोटमा बाइसे चौबिसे राज्य अन्र्तगत राजाले राज्य गरेको इतिहासकारहरुले उल्लेख गरेका छन् । धुलीकोट राज्यसँग जोडिएका विभिन्न पौराणिक पुरातत्वहरु अहिले पनि उक्त क्षेत्रमा देख्न सकिने स्थानीय बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको कर्णाली चिसापानीबाट तीन घण्टा पैदल यात्राम राजकाँडा धुलीकोट पुग्न सकिने बताइन्छ ।

पछिल्लो समय ऐतिहासिक महत्व बोकेको रमणीय ठाउँ राजकाँडा धुलीकोट प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धनमा लाग्न थालिएको छ । उक्त क्षेत्रको पर्यटन विकासका लागि पर्यटन बोर्ड, पर्यटन व्यवसायी, स्थानीय सरकार र सरोकारवाला निकायले जोड दिन थालेका छन् । यसै अनुरुप उक्त क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रर्वद्धनका लागि कैलालीको चिसापानीदेखि ऐतिहासिक दरबार धुलिकोटसम्म पदयात्रा प्रतियोगिताको आयोजना गरिएको छ ।

नेपाल पर्यटन र्बोडको सहयोगमा, लम्कीचुहा नगरपालिका प्रवद्र्धक रहने गरी नवलसिंह रावल फाउन्डेसनको आयोजनामा वैशाख १८ गते पदयात्रा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावले उक्त पदयात्रामा सुदूरपश्चिम प्रदेश सरकारको सिङ्गो टिमसहित ८८ वटा पालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्षलगायतको बृहत् उपस्थिति रहने बताउन्छन ।
पर्यटन विकासको माध्यमबाट आर्थिक समृद्धि हुने जनाउँदै पर्यटन व्यवसायीसमेत रहेका अध्यक्ष रावलले पदयात्रा प्रतियोगिताको माध्यमबाट मोहन्याल गाउँपालिकामा रहेको ऐतिहासिक धुलिकोट दरबारको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे । लम्कीचुहा नगरपालिकाका ३ का वडाअध्यक्ष तथा नगरप्रवक्ता लवबहादुर शाहीले पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा घोडाघोडी ताललगायत अन्तर्राष्ट्रिय महत्व बोकेका पर्यटकीय क्षेत्र रहेको जनाउँदै पहिलो पटक आयोजना हुने पदयात्रा प्रतियोगिताले धुलीकोटको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले चिसापानी पुल सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार रहेको र सोही स्थानमा जाल्पादेवी केवलकार निर्माणको चरणमा रहेको जनाउँदै चिसापानी राजकाँडा क्षेत्रलाई पर्यटनको हब बनाउने गरी स्थानीय तहले काम थालेको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.