अत्तरिया, १२ बैशाख : कैलारी गाउँपालिका–८ लोहरपुरमा भजहर कप फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । युवा जनहित क्लवको आयोजनामा वैशाख १७ गतेदेखि २४ गतेसम्म आयोजना हुन लागेको हो ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लवले फुटबल प्रतियोगिताको बारेमा जानकारी दिएको छ । थारु संस्कृति भजहर संरक्षण तथा खेलकुदको प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको क्लवका उपाध्यक्ष कालुप्रसाद चौधरीले बताए ।
उनले भने ‘हाम्रो थारु समुदायको भजहर संस्कृति पछिल्लो समय लोप हुँदै गएको छ । यसको संरक्षण गर्न आवश्यक छ । खेलकुदमा पनि युवालाई आकर्षण गर्न फुटबल प्रतियोगिता गर्न लागेका हौँ ।’
फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख र उपविजेता टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने उनले बताए । क्लवले विगतका वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै उनले यो प्रतियोगिता पाँचौँ सस्करण भएको बताए ।
प्रतियोगिताको मुख्य प्रवर्धक निसर्ग हस्पिटल रहेको छ र भने कैलारी गाउँपालिका प्रवर्धकका रुपमा रहेको छ । थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन रहेको छ । गाउँभन्दा केही पर रुखको छहारीमुनि रमाइलो गर्दै यो पूजा गरिन्छ । यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबच्चा सुखीखुसी रहून्, गोरु, गाई, भैँसी र राँगालाई रोगव्याधिले नसमातोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको छ ।
सम्बन्धित पाेस्टहरु