नेपाल खेलकुद महासंघले धनगढीमा भलिवल प्रतियोगिता गर्ने

अत्तरिया, ३ जेठ : नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा पहिलोपटक सुदूरपश्चिमस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आगामी जेठ २९ देखि ३१ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लागत रूपमा टोलीहरु सहभागी हुनेछन् । खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने प्रावधान गरिएको छ भने विभागीय टोलीलाई सहभागिता दिइने छैन ।
महासंघका प्रदेश अध्यक्ष प्रकाशकुमार चन्दका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टोलीलाई ५१ हजार र तेस्रो हुने टोलीलाई ३१ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, साथै उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबरोलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
अध्यक्ष चन्दका अनुसार प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशलाई राष्ट्रव्यापी रूपमा भलिबलको केन्द्र (हव) को रूपमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक, साथै १२ जना मान्यता प्राप्त रेफ्रीको सहभागिता रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.