डडेल्धुरामा देउवाविरुद्ध पाँच चुनाव लडेका ‘रावल’ रहेनन्

अत्तरिया, २३ जेठ : नेपाली राजनीतिमा लगातार ७ चुनाव जित्ने रेकर्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा छ । २०४८ सालयता भएका सबैजसो संसदीय-संविधानसभा निर्वाचनमा देउवा डडेल्धुराबाट जित्दै आएका छन् ।
तर डडेल्धुरामै देउवाका एक जना यस्ता प्रतिस्पर्धी थिए, जसले आफू जीवित रहेसम्म देउवालाई निर्विरोध निर्वाचित हुन नदिने प्रण कसेका थिए । उनलाई थाहा थियो–म देउवासँग कहिल्यै चुनाव जित्दिनँ । तर उनी हरेक चुनाव जसो मैदानमा उत्रन्थे । भलै देउवालाई निर्वाचित भइरहन उनको प्रतिस्पर्धाको कुनै ठुलो अर्थ देखिन्नथ्यो ।
उनी थिए, अमरगढी नगरपालिका निवासी कर्णसिंह रावल । रावललाई डडेल्धुरामा धेरैले ‘मम्याल बाजे’ भनेर चिन्दथिए । नवदुर्गा गाउँपालिको मम्या भन्ने गाउँमा जन्मिएकाले उनलाई यो नाम जुराइएको हो । उनले २०५६ देखि यताका ५ वटा निर्वाचनमा देउवालाई निर्विरोध निर्वाचित हुन नदिने भन्दै उम्मेदवारी दिएका थिए । जुन उनेको आफू जीवित रहेसम्मको प्रण रहेको जानकारहरू बताउँछन् ।
रावलको यस्तो प्रण शुक्रवार अन्त भएको छ । केही दिनयता बिरामीले थला परेका उनले ८४ वर्षको उमेरमा देह त्याग गरेका छन् ।
उसो त रावल २०४८ को प्रतिनिधिसभा निर्वाचनमा देउवाको मतदाता मात्रै नभई प्रचारक पनि थिए । उनी देउवालाई जिताउन त्यो बेला प्रचार प्रसार गरेको समेत दाबी गर्थे । एक सरुवामा देउवाले आफ्नो चित्त दुखाएकाले आफू चुनावी प्रतिस्पर्धी बनेको उनले सञ्चारमाध्यमसँग बताउने गरेका थिए । समाचारहरूमा आएअनुसार उनले तीन दशक मालपोत कार्यालयमा सेवा गरेका थिए । २०५४ सालमा अवकाश पाएका थिए ।
सेवा कालको अन्ततिर सरुवा हुँदा उनले डडेल्धुरामै बस्न चाहे । तर देउवाले ‘अर्को मान्छे राखिसकेकाले हुँदैन, उसलाई बैतडी पठाऊ’ भनेको खबर सुनेको उनले बताउने गरेको थिए । त्यसपछि उनले बाँचुन्जेल देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिदैँ आएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.