
काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि पक्राउ परेका राप्रपा नेपालका युवा नेता सुजित केसी हिरासतमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो। जयवीरले तारे होटल हिल्टन खरिद गरेको विषयमा केसीले स्टाटस लेखेका थिए। त्यसविरुद्ध देउवा परिवारले जाहेरी दिएका थिए।
आज केसीको तर्फबाट नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइरालासहितले बहस गरेका थिए।
देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए। सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो। सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो।
