
अत्तरिया : भीमदत्त राजमार्ग अन्र्तगत बुढीतोलामा सडक निर्माणले पूर्णता नपाउँदा यातायात तथा यात्रुहरुलाई कष्ट हुने गरेको छ । बर्खायाम सुरु भएको हुँदा सडक हिलाम्मे हुने गरेको छ । गत साउन २२ गते कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा ठूलो पहिरो खस्दा सडक अस्तव्यस्त बनेको थियो ।
गत बर्ष पहिरो खसेको करिब सात दिनपछि सवारी आवागमन सुचारु भएको यो ठाउँमा सडक विभागले पुनर्निर्माणको काम थालेको थियो । लगातारको वर्षाले जमिन नै भासिएर दलदलमा परिणत भएपछि भूगर्भविद्को टोलीले स्थलगत अध्ययन समेत गरेको थियो । अध्ययन क्रममा जमिनमुनिको पानी बग्ने गति रोकिएपछि बुढीतोलामा राजमार्ग माथिबाट पहिरो खसेको र सडक भासिएको निष्कर्ष निकालिएको थियो । त्यसपछि त्यो ठाउँको पानी एकै ठाउँमा जम्मा गरेर निकास दिनुपर्ने सुझाव अनुसार डिभिजन सडक कार्यालयले पुनर्निर्माणको काम अघि बढाएको थियो । करिब ६ करोड बराबर लगानीमा पुनर्निर्माणको जिम्मा जेएसआई हटैराज जेभीले पाएको छ । सडक निर्माण्ले पुर्णता पाउन नसक्दा हिलाम्मे सडक छ ।
सडक हिलाम्मे हुँदा दैनिक दुई पाग्रे गाडीहरु पल्टिने गरेका छन् । पानी परेमा मोटरसाईकलमा यात्रा गर्न सक्ने अवस्था नरहेको धनगढी घर भएका यात्रु टंक कुँवरले बताए । ‘सडक हिलाम्मे रहेको छ । पानी परेमा यात्रा जोखिम रहेको छ’, उनले भने । ‘निर्माण कम्पनीले जतिसक्दो चाडो सडक निर्माण सम्पन्न आवश्यक देखिन्छ ।’
डिभिजन सडक कार्यालय महेन्द्रनगर प्रमुख हरि सुवेदी बुढीतोलामा पहिरो खसेको ठाउँमा लगभग ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी एक महिनाभित्र पूरा हुने दावी गर्छन । मनसुन भित्रिनु अघि नै बुढीतोलाको सडक पुनर्निर्माण सक्ने लक्ष्य भए पनि अहिलेसम्म सकिएको छैन ।
‘त्यहाँ अल सर्फेस डिलिनेसन सिस्टम (सतह रेखांकन प्रणाली) मार्फत पानीलाई एकै ठाउँबाट निकास गर्ने गरी काम भइरहेको छ,’ सुवेदीले भने, ‘त्यसका लागि सडकको माथि इनार बनाएर पानी संकलन गर्दै भित्र ड्रिल गरेर फाल्ने संरचना तयार भइरहेको हो । ८० प्रतिशत काम सम्पन्न भइसक्यो, थोरै बाँकी छ ।’ अब सडकमा ग्याबिन लगाउने र ग्राभेलको काम मात्रै बाँकी रहेकाले केही दिनभित्र सम्पन्न हुने दाबी उनको छ ।
भीमदत्त राजमार्गपछि जयपृथ्वी राजमार्ग पनि वर्षातको समयमा धेरैजसो पहिरोका कारण अवरुद्ध बन्ने गरेको छ । यो राजमार्गमा जाने सानो, ठूलो पहिरोका कारण सडक अवरुद्ध हुँदा सधैंजसो यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । ठूलो पहिरो गएको ठाउँमा पुनर्निर्माणको काम नभएका कारण यो वर्ष पनि बर्खामा दुःख खेप्नुपर्ने अवस्था कायमै छ ।
