सुदूरपश्चिममा मनसुनजन्य जोखिम अत्याधिक

अत्तरिया : सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ। देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ।

विपदले हुन सक्ने क्षति न्यूनीकरण र आवश्यक पूर्वतयारी अवस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। डोटी, बाजुरा, अछाम, डडल्धुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली, कञ्चनपुरका केही भाग डुबानको जोखिममा छन्।

गत असार ४ गते मात्र कैलालीको गौरीगङ्गामा एक जनाको खोलामा बगेर मृत्यु भएको छ। तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरो लगायतका जोखिमका कारण बर्सेनि ठुलो जनधनको नोक्सानी हुने गरेको छ। मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घरखेत बगाएर विस्थापित हुने समस्या बर्सेनि झेल्दै आएको छ।

यो वर्ष पनि ठाउँ ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ। बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले जनधनको क्षति हुने गरेको छ । सरकारले भने सधैँ आफ्ना सबै निकाय तयारीमै रहेका बताउने गरेको छ। विपत् व्यवस्थापन कार्यविधि पारित गरेर विपत् व्यवस्थापन समितिका व्यक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए।

सुरक्षा निकाय र स्थानीय स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र सरोकारवालासँग विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नेबारे पनि छलफल भइसकेको उनले बताए।पहाडी जिल्लामा पहिरो तथा सडक अवरुद्धको जोखिम सबैभन्दा बढी रहेको छ। विशेष गरी कैलाली कञ्चनपुरका विभिन्न बस्ती डुबानमा पर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेशको तराई–पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन्। सम्भावित विपत्लाई लिएर कैलाली, कञ्चनपुरका विपत् सम्पर्क व्यक्तिलाई तालिम दिइएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले यस वर्ष विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीका लागि सामग्री खरिददेखि जिल्लास्तरबाट हुने तयारी भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.