अत्तरिया, १५ असार : नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को आयोजनामा गोदावरी नगरपालिका–४ बास्कोटामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको छ । “धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रम सोमबार बिहान ८ बजे वडाध्यक्ष हेम प्रकाश मल्लको खेतमा आयोजित गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, प्रदेश सभा सदस्य तुलसी देवकोटा, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया ललित, चुरे, गौरीगंगा र गोदावरी क्षेत्रका पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले खेतमा उत्रिएर परम्परागत शैलीमा धान रोप्दै असार १५ लाई सांस्कृतिक पर्वका रूपमा उत्सवमय वातावरणमा मनाएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउँदै स्थानीय उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य रहेको बताए । उनले कृषिमा नागरिकको सहभागिता बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । त्यस्तै, प्रदेश सभा सदस्य तुलसी देवकोटाले “मानो रोपेर मुरी फलाउने” परम्परालाई आत्मसात् गर्दै आधुनिक कृषि प्रणालीको विकासमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति बसन्त रोकायाले दही–चिउरा खाएर खेतमा उत्रिनु नेपाली परम्परासँगै एकताको प्रतीक भएको बताउँदै सबै सहभागीप्रति आभार प्रकट गरे । वडाध्यक्ष हेम प्रकाश मल्लले आफ्नो खेतमा कार्यक्रम आयोजना गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउनेमा सहकार्य गर्ने सबै जनप्रतिनिधि, नेता तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित पाेस्टहरु