
अत्तरिया, १९ असार : सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो । धनगढीको फाप्ला खेलमैदानमा प्रतियोगिता भएको हो ।
उपाधिसँगै डडेल्धुराले दुई लाख रुपैयाँ पुरस्कार तथा कञ्चनपुरले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन् । यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन् ।
समापन कार्यक्रममा प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि थिइन् । उनले खेलकुदमा बजेट अभाव रहेको भन्दै सुधारको प्रतिबद्धता व्यक्त गरिन् । विजेता तथा उपविजेता खेलाडीलाई मन्त्री खड्का र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काल गायतले पुरस्कार वितरण गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्ला सहभागी थिए । धनगढीमा महिला किक्रेट प्रतियोगिता भएपछि खेलडीहरु उत्साहित भएका थिए ।
